
उदयपुर, १५ चैत । कोरोना भाइरस (कोभिड १९ं) को संक्रमण भारतका विभिन्न राज्यमा फैलिएपछि चैतको पहिलो सातादेखि भारतमा काम गर्ने नेपाली घर फर्कन शुरु गरे । भारतका विभिन्न क्षेत्रमा होटल, कलकारखाना, कम्पनी बन्द भएपछि कोरोनाको त्रासले नेपाल फर्कनेको संख्या ह्वात्तै बढ्यो । सरकारले लकडाउन गर्ने अघिल्लो दिन चैत १० गते सोमबारदेखि काकरभिट्टा, जोगबनी र जयनगर नाकाबाट लकडाउनको तेस्रो दिनसम्म हिँडेर समेत उदयपुर आउने क्रम रोकिएको थिएन । तीन दिनअघि मात्र भारतका विभिन्न प्रान्तबाट ताप्ली गाउँपालिका घर हुने २१ जनालाई भने सेनाले निर्माण गरेको कटारी( १ बेलसोतको क्वारेन्टाइनमा राखिएको थियो । लक डाउन भएसँगै भारतबाट आएका कटारी नगरपालिका भित्रका ब्यक्तिहरु भने क्वारेन्टाइनमा नबसी आफुखुसी हिँडिरहेको कटारी स्थानीय श्यामबाबू अधिकारीले बताए ।
घर गएका उनीहरु होम क्वारेन्टाइनमा समेत बस्न इन्कार गरी गाउँभरि घुम्ने, सार्वजनिक स्थलमा जम्मा हुने गरेको स्थानीयले बताएका छन् । कटारी नगरपालिकाभित्र मात्रै १००.भन्दा बढीको संख्यामा आएकाहरु गाउँभरि छरिएर रहेका र जताततै उनीहरुको चहलपहलले गाउँमा त्रास बढेको स्थानीय बताउँछन् । ‘हाम्रो वडामा मात्र भारतबाट आएका १७ जना जति छन्, उनीहरु गाउँभरि घुम्ने, जहाँ मन लाग्यो त्यहाँ गएर बस्ने गरेको स्थानीयहरुले जानकारी गराएका छन्,’ कटारी नगरपालिकाका( २ नम्बर वडाध्यक्ष प्रेम बहादुर थापाले भने, ‘जथाभावी नघुम्नु भनेर भन्दा हामी जाँच गरेर आएका हुँ भन्छन् ।’ भारतबाट घर फर्केकाहरुको भीडभाड र चहलपहलले गाउँमा त्रास बढेको थापाले बताए । केही दिन घरमै अलग्गै बसिदिन भनेर भन्दा पनि उनीहरुले नमान्ने गरेको थापाको भनाइ छ।
नाकामा ज्वरो जाँच गरेकोलाई उनीहरुले जाँच भन्ने गरेका हुन् । कोरोना भाइरसको संक्रमण भएकालाई १४ दिनसम्म लक्षण नदेखिने भएकाले नाकामा जाँचेको ज्वरोले मात्र थाहा नहुने कटारी नगरपालिका स्वास्थ संयोजक सुरेश दाहाल बताउँछन् ।
गाउँमा त्रास
भारतबाट फर्केका सयौँ जना क्वारेन्टाइनमा नबसी गाउँमा घुमिरहेकाले जिल्लाको ग्रामीण वस्तीमा त्रास बढेको छ । ११ गते मंगलबार ताप्ली गाउँपालिका हिँडेकालाई मात्र क्वारेन्टाइनमा राखे पनि त्यसअघि आएका सबै घरघर गएर क्वारेन्टाइन बसेका छैनन् । ‘भारतबाट आएकाहरुले गाउँघर भरिएका छन् । उनीहरु घरमा नबसेर लाहुरेजस्तै मन लागेको ठाउँमा जाने, बस्ने, खाने गरेका छन्,’ कटारी नगरपालिका- ३ बलियाका सुवास भट्टराईले भने, ‘उनीहरुको गतिविधिले गाउँघर पूरै त्रासमा छ ।’ भारतबाट चैतको डेढ सातामा कतिको संख्यामा जिल्लामा आए, कुन पालिकामा कति छन्, त्यसको कुनै रेकर्ड नगरपालिकाले समेत राखेको छैन ।
लकडाउनमा तास र भोज
भारतबाट फर्केकाहरुले बाेका-खसी काटेर भोज गर्ने गरेका छन् । तास खेल्ने र तास हेर्नेको भिड समेत लाग्ने गरेको स्थानीयले बताएका छन् । ‘गाउँमा स्वतन्त्र रुपमा उनीहरुले मनोञ्जन गरिरहेका छन् । केही भनेमा उल्टै गाली गर्छन् । कुन ब्यक्ति कोरोनाबाट संक्रमित छ कसैलाई थाहा छैन,’ एक स्थानीयले भने, ‘कुनै एक व्यक्ति यसबाट पीडित भए गाउँ हुँदै देश नै महामारीमा जानसक्ने खतरा छ ।’