देशभरका इसीडी शिक्षकलाई आयो खुसीको खबर, प्रतिस्पर्धाबाट स्थायी गर्ने सहमति



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै मन्त्रीपौडेलले लामो समयदेखि आन्दोलनरत शिक्षकहरुको मागहरु कार्यान्वयन गर्ने सहमति भएको बताए । “शिक्षकहरु पहिल्यै देखि आन्दोलनरत हुनुहुन्थ्यो,” मन्त्रीपौडेलले भने, “म पदमा बहाली भएपछि पनि उहाँका मागका विषयमा गम्भीर छलफल गरी कार्यान्वयन गर्ने विषयमा सहमति भयो ।”

यसैबीच सरकार र महासंघका प्रतिनिधिबीच राहत, साविक उमावि र बाल कक्षा शिक्षक कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक/खुला प्रतियोगिताद्वारा स्थायी गर्ने र कार्यरत शिक्षकलाई आयोगको परीक्षामा उमेरको हद नलाग्ने सहमती भएको छ। यससँगै आन्दोलनमा रहेका राहत र इसीडी शिक्षकलाई राहत मिलेको छ ।

राहत, सविक उमावि , बालकक्षा शिक्षक तथा अस्थायी प्रकृतिका अन्य शिक्षक बारे
१.राहत, साविक उमावि र बाल कक्षा शिक्षक कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक/खुला प्रतियोगिताद्वारा स्थायी गर्ने र कार्यरत शिक्षकलाई आयोगको परीक्षामा उमेरको हद नलाग्ने ।
२. शैक्षिक अनुदान, प्राविधिक धार र विशेष शिक्षाका शिक्षक दरबन्दीलाई क्रमशः स्वीकृत दरबन्दीमा परिणत गर्ने ।
३. अस्थायी प्रकृतिका शिक्षकको पनि कार्य सम्पादन मूलायङ्कन गर्ने व्यवस्था गर्ने ।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार