काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएईमा अलपत्र नेपालीहरूको व्यवस्थापनका लागि आगामी साता यूएई जाँदैछन् । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका विषयमा यूएई सरकारसँग फलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लागेका हुन् ।
नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई)का राजदूत साइद हमदान अल नाकीसँग आइतवार मन्त्रालयमा छलफल समेत गरेका छन् । मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा यूएई गई अलपत्र परेका नेपालीहरूको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरे ।
मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरूलाई यूएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानूनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरूलाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेहरूलाई नेपाल फिर्ता गर्ने क्रममा यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।
नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई लैजाने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन पनि यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।
राजदूत साइदले अलपत्र परेका नेपालीलाई यूएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेहरूलाई पनि आवश्यक सहयोग गर्ने बताए । मन्त्री श्रेष्ठको यूएई भ्रमणको क्रममा नेपाल(यूएई संयुक्त समितिको बैठक पनि आयोजना हुनेछ ।





