एमसीसी रोक्ने अन्तिम प्रयासमा प्रचण्ड, होलान् त सफल ?



काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको मुद्दा पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा उभिएपछि सत्ता गठबन्धनका घटक दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अप्ठ्यारोमा परेका छन् ।

एमसीसी कुनै हालतमा पारित नहुने नेकपा एसका नेता झलनाथ खनालको भनाईले राजनीतिक तरंग ल्याइसकेको छ । प्रचण्डले राजनीतिक प्रतिवेदनमै एमसीसी यथास्थितिमा पारित नगर्ने बताइसकेका छन् । अब प्रचण्ड र माधव नेपालले एमसीसी रोक्ने अन्तिम प्रयास गरिरहेका छन् ।

विश्वस्त स्रोतका अनुसार एमसीसी चुनावयता थाती राख्ने प्रचण्ड र माधव नेपालको प्रयास चलेको छ । तर, देउवा त्यसमा सहमत छैनन् । उनी विकल्पसहित बढिसकेका छन् । प्रचण्ड र माधव नेपालले नमाने केपी शर्मा ओलीसँग हात मिलाउने देउवाको तयारी छ ।

देउवाले एमसीसीका लागि गठबन्धन नै तोड्न खोजेपछि प्रचण्ड र माधव नेपाल विकल्प निर्माणमा लागेका छन् । आज प्रचण्डले बालुवाटारमा देउवालाई भेटेका छन् । उनले एमसीसी पारित गर्न संशोधनको शर्त राखेको बुझिएको छ ।

माधव नेपाललाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड पुगेका छन् । खाँडले एमसीसी पारित गरेमा मात्र गठबन्धन जोगिने स्पष्ट बताएको बुझिएको छ । एमसीसी रोक्न प्रचण्ड र माधव नेपालका लागि फलामको च्युरा भइसकेको । देउवा अगाडि बढेबाट पछि फर्कने सम्भावना लगभग छैन । अब प्रचण्डले एमसीसी रोक्न केपी शर्मा ओलीको साथ लिनेबाहेक विकल्प देखिदैन । त्यो विकल्पमा पनि प्रचण्ड लागिसकेको विश्वस्त स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधवार