ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच सिसिटिभी जडान गर्ने सम्झौता



ललितपुर । ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच शहरी सुव्यवस्थापनको लागि सिसिटिभी प्रणाली जडान तथा संचालनका लागि सम्झौता भएको छ । सोमबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पत्रमा हस्ताक्षर पछि बोल्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले महानगरपालिकाले गत वर्षदेखि ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट लाइट तथा सिसिटिभी जडान गर्ने नीति लिएको बताएका छन् ।

उनले ललितपुर महानगरले महानगरभित्र महानगर तथा वडा स्तरमा समेत सिसिटिभी जडान र व्यवस्थापन गर्दै आएको बताएका छन् । मेयर महर्जनले सिसिटिभी जडानलगायत अन्य सुरक्षाको विषयमा महानगर प्रहरी परिसरसँग नजिक बसेर सहयोग गर्दै आएको बताएका छन् । उनले महानगरले जडान गरेको सिसिटिभी नेपाल प्रहरीको केन्द्रीय सिसिटिभी प्रणालीमा जडान गर्नु पर्ने बताएका छन् । यस्तो गर्दा जडान भएका सिसिटिभीहरु निर्वाद रुपमा सञ्चालन हुन सक्ने उनको भनाइ छ । उनले सिसिटिभी जडानको लागि महानगरपालिकाले २ करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको बताएका छन् । अब स्थानीय निकायहरु नयाँ नयाँ प्रविधि अनुसार चल्न सक्नुपर्ने पनि उनले जोड दिएका छन् ।

‘महानगरपालिकाको यस भन्दा अगाडि देखि विभिन्न स्थानमा सिसिटिभीको व्यवस्थापन गर्दै आएको छ । वडा स्तरमा समेत यस्तो योजना बनाएर काम गरेका छौँ ।महानगर स्तरिय समेत महानगरले सिसिटिभिको व्यवस्थापन गरेका छौँ । यस अगाडि बल्खुदेखि सानेपा हुँदै एकान्तकुना सम्मको सडकमा सिसिटिभी व्यवस्थापन गरिसकेका छौँ । यसले सुरक्षाको सन्र्दभमा महानगरले प्रहरी परिसरसँग नजिक बसेर काम गदै आएका छौँ । महानगरको सडकमा सिसिटिभि जडानको योजना छ । त्यो ललितपुर महानगर क्षेत्रमा स्मार्ट लाइटको व्यवस्थापन गरेका छौँ । नगरपालिकाको चार वटा रुटमा गत वर्ष नै स्मार्ट लाइट लाइट जडान गरेका छौँ’ उनले भने ।

‘महानगरको अबको नीति भनेको जुन स्थानमा स्मार्ट लाइट जडान भएको छ । त्यी स्थानहरुका महानगरले सिसिटिभिको पनि व्यवस्थापन गर्ने नीति लिएको छ । यही नीति अन्र्तगत यो पटक महानगरको महासभाले पारित गरेर २ करोड बजेट विनियोजन गरेर बजेट व्यवस्थापन गरेका छौँ । महानगरपालिका जन निर्वाचित संस्था भएकाले सिसिटिभि २१ औँ शताब्दीको समयमा नयाँ प्रविधिको अनुसार चल्नु पर्ने देखिन्छ’ उनले भने ।

‘महानगरले जडान गर्ने सिसिटिभि नेपाल प्रहरीको केन्द्रिय सिसिटिभि प्रणाली सँग जडान गर्नु पर्छ । यसको व्यवस्थापन पनि त्यही अनुसार हुनुपर्छ। केन्द्रिय प्रणालीसँग जोडियो भने धेरै समयसम्म टिकाउ हुन्छ । त्यही अनुसार महानगरले प्रहरीसँग सहकार्य गरेको छौँ। यो सिसिटिभि जडान महानगरको भिभिआइपी सडकहरुमा जडान गर्ने हुँदा प्रहरीको सिसिटिभि केन्द्रिय प्रणालीसँग जडान हुने गरी व्यवस्थापन गर्नु पर्ने भएकाले जडानको पाँच वर्षसम्म निर्वाद रुपमा सञ्चालन हुन्छ । महानगरले स्मार्ट लाइट जडानको लागि ठेक्का भइसकेको छ। अहिले सिसिटिभि जडान भएका स्थानमा यस्तै अन्य योजनाहरु अगाडी बढाउने महानगरको योजना छ’ उनले भने । त्यस्तै, महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी वरिष्ठ उपरिक्षक यज्ञ विनोद पोखरेलले सिसिटिभी जडान कार्यले ललितपुर महानगरपालिकाको सुरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले सुरक्षाको लागि स्थानीय सरकार अभिन्न अंग भएकाले प्रहरीलाई स्थानीय सरकारको हरेक पलमा सहयोग आवश्यक रहेका बताएका छन् ।

‘अहिले सुरक्षाको लागि स्थानीय सरकार अभिन्नअंग हो । त्यसैले प्रहरीले गर्ने हरेक पलमा स्थानीय सरकारको साथ बिना काम गर्न कठिन हुने भएकाले स्थानीय सरकारको सहयोगको अपेक्षा गरिन्छ । ललितपुर महानगरपालिकाले विभिन्न स्थान सिसिटिभि क्यामेरा जडान गर्ने गरी प्रहरीलाई २ करोड दिएर सुरक्षाको दृष्टिले अत्यन्तै महत्वपूर्ण छ । नगरपालिकाका मेयर महर्जनबाट जुन पहल भएको छ त्यो सुरक्षा र अन्य विभिन्न कुराले महत्वपूर्ण छ । यो सिसिटिभी जडान राम्रोसँग गरिने छ । सिसि क्यामेरा मात्रै नभएर अन्य विविध कुरामा महानगरपालिकाबाट प्रहरीले सहयोग पाएको छ। महानगरपालिकाबाट यस्ता सहयोग धेरै भइसकेका छन । अझै सहयोगको अपेक्षा प्रहरीले गर्छ । यो सहयोगले महानगरको सुरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्ने छ’ उनले भने ।

उनले ललितपुर महानगरपालिकाले विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने गरी प्रहरीलाई २ करोड रुपैया दिएर सुरक्षाको दृष्टिले अत्यन्तै महत्वपूर्ण काम भएको बताएका छन् । उनले सडकमा सिसिटिभी जडान कार्यले सुरक्षा र अन्य विभिन्न कुराको लागि महत्वपूर्ण रहेको बताएका छन् ।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमवार