राम्रो कामको प्रलोभनमा यसरी ठगिँदैछन् साउदीमा नेपाली कामदार



रियाद । साउदीमा कार्यरत नेपालीलाई भइरहेको काम छाडेर राम्रो रोजगारी पाइने प्रलोभनमा नपर्न साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । दूतावासमा साउदीमा रहेका नेपालीले नै विभिन्न परिचय र टेलिफोन नम्बरबाट फोन गरी राम्रो जागिर लगाइदिने प्रलोभन देखाउँदै ठग्ने गरेको गुनासो प्राप्त भएको भन्दै दूतावासले यस्तो ठगीबाट बच्न अनुरोध गरेको हो ।

भर्खरै इकामा बनाएका श्रमिकलाई खाइपाइ आएको तलब र सुविधाभन्दा बढी दिने काम लगाइदिने बहाना बनाउने र रोजगारी छोड्न लगाइ गैर कानुनी हिसाबले काममा लगाउने गरेको पाइएको दूतावासले जनाएको छ । साउदीमा कम्पनी छाडेर भाग्नु गैर कानुनी र अनैतिक मानिन्छ भने यसरी काम गरिरहेका श्रमिकलाई भगाउनु अपराध हो ।

दूतावासका अनुसार यसरी गरिरहेको काम छाडेर भाग्दा साउदीका रोजगारदाताले नेपाली श्रमिकलाई शङ्काको दृष्टिकोणले हेर्ने र उनीहरूप्रति अविश्वास बढ्दै गएको छ । एउटा कम्पनीको इकामा लिएर भाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र कामदारलाई सचेत गराउन दूतावासमा साउदीका अधिकारीहरूले अनुरोधसमेत गरेका छन् ।

यसरी मानव तस्करीका रूपमा रहेको कामदार भगाउनेहरूको खोजी गरिरहेको भन्दै यस्तो कार्य नगर्न र नगराउन दूतावासले सबैलाई सचेत गराएको छ । साउदीमा गैर कानुनी हैसियतमा रहेका व्यक्ति बिरामी भएर उपचार गर्नुपर्दा अस्पताल छिर्न नपाउने, दुर्घटना भएर घाइते वा अङ्गभङ्ग भएमा त्यसको उपचार र क्षतिपूर्तिसमेत पाइँदैन । गैर कानुनी रूपमा रहेका श्रमिकको कुनै कारणबाट ज्यान गएमा शव नेपाल ल्याउने जिम्मासमेत कसैले नलिने हुँदा शव ल्याउन समेत समस्या पर्छ ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार