तेस्रो लहरकाे संकेत देखिएपछि कतारले सुरु गर्याे तयारी



दोहा । कतारमा कोरोना भाइरसको संक्रमितको संख्या उकालो लागेसँगै कतार सरकारले तेस्रो लहरको संकेत देखिएको भन्दै उच्च सावधानी अपनाएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै उच्च सावधानी अपनाउन निर्देशन दिएको छ ।

यस्तै कतार सरकारले तेस्रो लहरको संकेत देखा परेको भन्दै नागरिकलाई केही कडाइ समेत गरेको छ । यसअघि खुकुलो बनाइएको मापदण्ड समेत अब कडाइ गरिने संकेत त्यहाको स्वास्थ्य मन्त्रालयले दिईसकेको छ । मन्त्रालयले नागरिकले पालना गर्नुपर्ने केही नियमहरु समेत सार्वजनिक गरेको छ ।

यस्ता छन कतार सरकारले सार्वजनिक गरेका नयाँ नियम
१. कोडिड अस्पतालमा आफन्त भेट्न निषेध
कतारी स्वास्थ्य मन्त्रालयले कतारका मुख्य तीन कोभिड अस्पतालमा बिरामी भेटघाटमा रोक लगाएको छ । त्यहाँको सरुवा रोग केन्द्र, हज्म मिबेइरिक जनरल अस्पताल मातहतको फिल्ड अस्पताल र क्युबान अस्पतालमा भेटघाटमा रोक लगाइएको हो । यी बाहेकका अस्पतालमा भने बेलुकी ३देखि ८ बजेसम्म मात्रै बिरामी भेटघाट गर्न पाइने हमाद मेडिकल कर्पोरेसनले जनाएको छ ।

२.स्वास्थ्यकर्मीले बिदा लिन नपाउने
हमाद मेडिकल कर्पोरेसनले कोरोना महामारीको त्रास बढेको भन्दै स्वास्थ्यकर्मीलाई बिदामा बस्न रोक लगाएको छ । प्राइमरी हेल्थ केयर सेन्टरले सर्कुलर जारी गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण नर्स डाक्टर लगायतका कर्मचारीलाई बिदामा बस्न रोक लगाएको हो ।

३.बुस्टर डोज लगाउन निर्देशन
कतारमा ओमिक्रोन भेरियन्टको संक्रमित भेटिएसँगै कतार सरकारले बुस्टर डोज लगाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ । नयाँ भेरिएन्ट विरुद्ध लड्न बुस्टर डोज प्रभावकारी रहेको भन्दै कतार सरकारले यस्तो आग्रह गरेको हो ।

४.मास्क अनिवार्य
कतार सरकारले पछिल्लो समय केही मानिसहरूले स्वास्थ्य मापदण्ड उलंघन गर्दा संक्रमित बढेको भन्दै पुनः मास्क अनिवार्य गरेको छ । सरकारले अनिवार्य मास्क लगाउनुपर्ने क्षेत्रहरु तोकेर यस्तो नियम लगाएको हो ।

यी हुन अनिवार्य मास्क लगाउनपर्ने स्थान

१.मल,मस्जिद,विद्यालय ,कार्यस्थल , सवारी ।

२. मजलिस , बिबाह ,अन्त्येष्टि र सामाजिक भेला ।

३.भिड जम्मा हुने बजार, प्रदर्शनी र कार्यक्रम ।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार