‘दुबई एक्स्पो’, नेपालको प्रस्तुतिले बिश्वको ध्यान तान्यो !



दुबई । यूएईमा चलिरहेको ‘दुबई एक्पो–२०२०’ को हालसम्म साढे ५६ लाख बढी दर्शकले अवलोकन गरेका छन् । ५ डिसेम्बरसम्म ५६ लाख ६१ हजार ९६० जना दर्शकले ‘दुबई एक्स्पो’ को भ्रमण गरेको यूएईबाट प्रकाशित सञ्चार माध्यमले जनाएका छन् ।

गत १ अक्टोबर देखि सञ्चालन भएको ‘एक्स्पो’मा युएईको स्वर्ण महोत्सवको साथमा दर्शकले शानदार खेल, संगीत र विभिन्न सांस्कृतिक प्रर्दर्शनीको अवलोकन गरेका हुन्।

‘एक्स्पो’ले सुरुका दुई महिना (अक्टोबर र नोभेम्बर) मा कुल १० हजार ४ सय ६१ वटा कार्यक्रमहरुको आयोजना गरेको बताएको छ। उक्त समयमा राष्ट्रपति, राष्ट्राध्यक्ष, प्रधानमन्त्री र मन्त्रीसहित कुल ५ हजार ३ सय ८३ सरकारी नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्न वा राष्ट्रिय दिवस मनाउने उद्देश्यले ‘एक्स्पो’को ‘साइट’लाई हेरेको तथ्यांक सार्वजनिक गरिएको छ ।

‘एक्स्पो’मा ५७ प्रतिशत दर्शकले ‘एक्स्पो सिजन पास’ लिएको बताइएको छ । जसअनुसार सुरूको दुई महिनामा दोहोरिएका दर्शकको संख्या १२ लाख पुगेको बताइएको छ। स्रोतको तथ्यांकअनुसार नोभेम्बरमा आएका अवलोकनकर्तामध्ये भारत, फ्रान्स, जर्मनी साउदी अरब र बेलायत जस्ता शीर्ष मुलुकहरुबाट मात्रै एक चौथाइभन्दा बढी ९२८ प्रतिशत आएको बताइएको छ।

त्यसैगरी अक्टोबर र नोभेम्बरमा लगभग ४ लाख ५५ हजार ट्याक्सीले सडक प्रयोग गरेर ‘एक्स्पो’ स्थल प्रवेश गरेका थिए । त्यसैगरी ६ लाख भन्दाबढी यात्राहरु निःशुल्क ‘एक्स्पो राइडर बस’मार्फत, र २२ लाख अवलोकनकर्ता दुबई मेट्रोमार्फत आएको बताइएको छ ।

‘लाइभ एट एक्स्पो’द्वारा संचालित भर्चुअल साइटमार्फत २ करोड ५० लाख अवलोकनकर्ताले ‘एक्स्पो’को अवलोकन गरेको श्रोतको तथ्यांक छ । सो अवसरमा बेलायतको ‘फेब्राइट वेबसाइट अवार्ड’द्वारा नोभेम्बर २०२१ को लागि ‘एक्स्पो दुबई डटकम’लाई सम्मान गरिएको समेत बताइएको छ । त्यसैगरी नोभेम्बर महिनामा रिभरडान्सको लोकप्रिय दौड, संगीतकारहरुको प्रदर्शन, कन्सर्ट र दौड जस्ता कार्यक्रमहरु संचालित भएका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २५ गते शनिवार