यूएईमा अब हप्तामा साढे चार दिन काम गरे पुग्ने, शुक्रवार आधा दिनपछि बिदा



यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) ले विश्वमै पहिलो पटक साढे चार दिनको कार्य हप्ता तोकेको बताएको छ । यसअघि हप्तामा दुई दिन शनिवार र आइतवार बिदा दिँदै आएकोमा अब शुक्रवार आधा दिनपछि बिदा दिएर साढे चार दिनको कार्य हप्ता तोकेको गल्फ न्यूजले जनाएको छ ।

विश्वका अरू देशमा अहिले पाँच तथा ६ दिनको कार्य हप्ता रहेको छ । साढे चार दिनको कार्य हप्ता आउँदो जनवरी २ देखि लागू हुनेछ । सबै सङ्घीय सरकारी विभागमा जनवरी १ तारिखदेखि नै नयाँ कार्य हप्ता लागू हुनेछ ।

कर्मचारीहरूलाई दैनिक काम गर्ने समय आठ घण्टा तोकिएको छ । शुक्रवार साढे चार घण्टा मात्रै काम गर्नुपर्ने छ । शुक्रवार कर्मचारीहरूलाई घरबाटै काम गर्ने सुविधा वा केही लचिलो कार्यसूची लागू हुनेछ । कार्य हप्ता छोट्याउँदा उत्पादकत्व बढ्ने तथा कर्मचारीलाई काम र जीवनयापनको तालमेलमा सहज हुने यूएई सरकारलाई उदृत गर्दै गल्फ न्यूजले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार