एमाले महाधिवेशनको सन्देशः ‘ओली नै एमाले एमाले नै ओली’



काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन अध्यक्ष केपी शर्मा ओली केन्द्रित बनेको छ । उद्घाटन अघि नै महाविधेशन ओलीमय बनाइएको थियो । ओलीलाई नै पुनः अध्यक्ष सदर गर्न जसरी महाविधेशन बोलाइएको देखियो । एमालेले उदघाटनमा एउटा वृत्तचित्र सार्वजनिक गर्यो । जसमा एमाले सरकारका पालमा भएका कामहरु उल्लेख गरिएको छ । ती कामहरु कस्ले गर्यो भन्दै केपी ओलीको नाम उल्लेख गरियो । वृत्तचित्तमा झण्डै सय पठक केपी ओलीको नाम लिइएको छ ।

हरेक पटक कस्ले काम गर्यो रु भन्दै जवाफ केपी ओली भनिएको छ । यसबाट पनि ओली केन्द्रित महाधिवेशन गरेको देखिदैछ । निश्चितरुपमा ओली एमालेमा सर्वशक्तिमान देखिन्छन् । एमाले फुटेपछि उनको प्रतिद्वन्द्वी कमजोर बनेका छन् । यसबीच उनको एकछत्र जस्तै प्रभाव हुनु स्वाभाविक हो । तर, ओलीलाई एमालेले देवत्वकरण गर्दै लगेको छ । एमाले नै केपी ओली र केपी ओली नै एमाले जस्तो बनाइएको छ ।

१०औं महाधिवेशनले एमालेमा ओलीको प्रभाव यति बढाइदिएको छ कि पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी जस्ता संस्थापक नेता देखि मदन भण्डारी जस्ता एमालेको सिद्धान्तका प्रतिपादकलाई पनि ओझेलमा पारिदिएको छ । अब एमाले ओलीपथमा जाने स्पष्ट संकेतहरु गरेको छ । ओलीविनाको एमाले परिकल्पना गर्न नसकिने जस्तो बनाइएको छ । उनलाई एमालेका अधिकांश नेताहरुले निर्विकल्प नेता भनिरहेका छन् । ओलीबाहेक कोही छैन जसरी प्रस्तुत गरिएको छ ।

नेपालको राजनीतिक इतिहासमा ओलीले केही किर्तिमानहरु पनि बनाएका छन् । तर, राजनीतिक दलमा व्यक्ति हावी बनाउनु र कसैको देवत्वकरण गर्नु लोकतन्त्रका लागि अर्को जोखिम बन्न सक्छ । लोकतन्त्र पद्धति र प्रणालीबाट चल्ने हो । त्यसको संस्थागत विकास गर्न सके व्यक्ति त्यहीभित्र निश्चित पथ, विधि, विधानमा चल्नुपर्छ । तर, ओली नै एमाले र एमाले नै ओली जसरी देवत्वकरण गर्नु व्यक्तिको लहलहैमा र लहडमा कुनैपनि संस्था चल्ने परिपाठीको विकास गर्नु हो । यस्ले अर्को तानाशाह जन्माउनसक्छ । लोकतन्त्रमा व्यक्तिको सनकबाट हुनसक्ने अनेकनहरु संकटहरु निम्त्याउन सक्छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार