श्रममन्त्रीकाे निर्देशन : पुन: श्रम स्वीकृतिकाे काम दुई सिफ्टमा गर्नु, विदेश जानेलाई सास्ती नदिनु !



काठमाडौं । वैदेशिक रोजगारीमा जानेका लागि पुनः श्रम स्वीकृतिबारेमा गुनासो बढेपछि प्रभावकारी बनाउन सरकारले निर्देशन दिएको छ । श्रम स्वीकृति नवीकरण छिटो छरितो नहुँदा आफूहरुले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ । गुनासो बढेपछि मन्त्रालयले वैदेशिक रोजगार कार्यालय ताहचललाई चार बुँदे निर्देशन दिएको हो ।

आवश्यकता अनुसार भाषा अनुवादककोमा पठाउने व्यवस्था मिलाउन, अनलाइन टोकन प्रणालीमा सङ्ख्या बढाउन र चापअनुसार अफलाइन टोकनको आधारमा पनि काम गर्न, सहायता कक्ष स्थापना गर्न तथा दुई सिफ्टमा सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ ।

विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएको र यसले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्देशन अनुसार श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड हुने भएकाले आवश्यकता अनुसार दुई सिफ्टमा काम गर्न थालिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गएको मंसिर एक गते वैदेशिक रोजगार कार्यालय ताहचलमा अनुगमन गरी सेवालाई व्यवस्थित र पारदर्शी गर्न निर्देशन दिनुभएको थियो।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार