विश्व कपको भव्य तयारीमा कतार,९ वटा मध्ये आठवटा रंगशाला तयार !



दोहा । कतारमा सन् २०२२ मा हुने फिफा विश्व कपको तयारी तिव्र भएको छ । कतार सरकारले विश्व कपलाई लक्षित गरेर निर्माण सुरु गरेको ९ वटा अत्याधुनिक रंगशाला मध्ये आठवटाको निर्माण सम्पन्न भएको कतार सरकारले बताएको छ । अर्को वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म फिफा विश्व कपको २२औँ संस्करण कतारमा हुनेछ ।

कतारले आयोजना गरेन लागेको विश्व कप कतारकै लागि पनि एक महत्त्वपूर्ण कदम हुनेछ । अरब राष्ट्रले उसमाथि लगाएको प्रतिबन्धका बाबजुद पनि कतारले रंगशाला निर्माण देखि सम्पूर्ण तयारी पुरा गर्नुले पनि उसले आफ्नो आर्थिक र सामाजिक क्षमता प्रदर्शन गर्ने अवसरको रुपमा विश्व कपलाई लिएको प्रष्ट हुन्छ । यसका साथै कतारले अत्याधुनिक रंगशाला बनाएर एकैदिन दुई खेलसम्म खेल्न मिल्ने व्यवस्था गरेको छ ।

कतारले विश्व कपको उद्घाटन ६० हजार दर्शक क्षमता भएको अल बायत रंगशालामा गर्नेछ भने समापन समारोह लुसेल रंगशालामा गर्नेछ । भर्खरै कतारले स्टेडियम नाइनसेभेनफोर निर्माण सम्पन्न गरेको छ भने लुसेल रंगशाला अर्को वर्षको फेब्रुअरीमा उद्घाटन गर्ने कतार सरकारको तयारी छ । कतारले रंगशाला निर्माणका लागि नेपाल लगायतका देशबाट जनशक्ति लगेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार