
काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०७८/७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले शिक्षक अध्यापन अनुमतिपत्रको विज्ञापन आगामी चैतमा खुलाउने, असारमा परीक्षा लिइने र नतिजा आगामी असोजमा सञ्चालन गर्ने गरी वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो। आयोगले अध्यापन अनुमतिपत्र वितरण आगामी २०७९ साल मंसिरबाट सुरु गर्ने जनाएको छ।
कार्यतालिकामा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा बढुवाका लागि पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने उल्लेख छ। आयोगले खुला विज्ञापनको सामान्य परीक्षा फागुनमा, नतिजा प्रकाशन आगामी वैशाखमा र विषयगत परीक्षा आगामी जेठमा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।
सामान्य र विषयगत परीक्षाको नतिजा साउनमा प्रकाशन गरिनुका साथै आगामी असोजमा शिक्षक सिफारिस गरिने र प्राथमिक तहको हकमा कात्तिकसम्म लाग्ने आयोगले कार्यतालिकामा उल्लेख गरेको छ।