पाल्पा । पाल्पा जिल्लाको निस्दी गाउँपालिका १ वाकामलाङ् स्थित श्री राधाकृष्ण माध्यामिक विद्यालयले शिक्षक पदपूर्तिका लागि पाँचौपटकसम्म विज्ञापन गर्दा पनि कसैले दरखास्त नदिएको जनाएको छ । माध्यामिक तहमा विज्ञान विषयको करार शिक्षक नियुत्तिको लागि पाँचौपटक सम्म विज्ञापन गर्दा पनि कसैले दरखास्त नदिएको जनाएको हो ।
नियम अनुसार माध्यामिक तहको अध्यपन अनुमतिपत्र प्राप्त गरेको शिक्षकले दरखास्त दिनुपर्ने हुन्छ । तर पाँचौपटक सम्म विज्ञापन गर्दा पनि अध्यपन अनुमतिपत्र प्राप्त गरेका कुनै पनि शिक्षकले दरखास्त नदिएको विद्यालयले जनाएको छ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रामप्रसाद खत्रीका अनुसार शिक्षक पदपुर्तिका लागि चार पटक सम्म पनि विज्ञान विषयको शिक्षकले दरखास्त नदिए पछि पाँचौपटक विज्ञापन गर्नु बाध्य भएको बताए । अध्यपन अनुमतिपत्र प्राप्त गरेको शिक्षकलाई मात्र नियुत्ति गर्नुपर्ने भएकोले समस्या भएको उनले बताए । उनले भने “एक त अध्यपन अनुमतिपत्र प्राप्त गरेको शिक्षक पाउनै मुस्किल अर्को विज्ञान विषय,यसले गर्दा अहिले सम्म एउटा पनि दरखास्त परेको छैन ।”
विद्यालय पाल्पाको दुर्गम ठाउँमा भएका कारणले पनि कोहि दरखास्त दिन नआएको खत्रीले बताए । पाल्पा,नवलपरासी र तनहुँको सिमानामा रहेको र जताबाट गए पनि राजमार्गबाट करिब ४० किलोमिटर टाढारहेकाले कोहि आउन नमान्ने उनले बताए । पाँचौ पटकको विज्ञापन कार्तिक १६ गते खोलिएपनि अहिले सम्म कसैले दरखास्त नदिएको जानकारी दिए । अन्तिम विज्ञापनको दरखास्त दिने समय कार्तिक ३० सम्म रहे पनि शिक्षक पदपूर्ति नभएसम्म लगातार विज्ञापन खोलिने जनाए ।





