ओमनमा अवैधानिक बसेका नेपाली कामदारलाई खुसीको खबर, ओमन सरकारले दियो नेपाल फर्कने अवसर !



मस्कट । ओमनमा गैरकानुनी रुपमा काम गरिरहेका कामदारलाई ओमन सरकारले आममाफी दिने भएको छ । ओमनको श्रम मन्त्रालयले ३१ डिसेम्बरसम्ममा ओमन छाड्नेलाई विना जरिवाना स्वदेश फर्कन दिने भएको हो ।

गैरकानुनी रुपमा बसेकाहरु यो अवसरको सदुपयोग गर्दै स्वदेश फर्किएमा श्रम र भिसा सम्बन्धि कुनै जरिवाना लाग्दैन । यस्तै, ओमनस्थित नेपाली दुतावासले यो अवसरको लाभ लिन भिसा नविकरण नभएका र बिना जानकारी आफ्नो रोजगारदाता छोडी गैरकानुनी रुपमा काम गरेका नेपाली कामदारलाई अनुरोध गरेको छ । ओमन सरकारले दिएको यश अवसरको फाइदा लिँदै हालसम्म ५० जना नेपाली कामदार स्वदेश फर्किसकेको समेत दुतावासले जानकारी दिएको छ ।

विभिन्न कारणले रोजगारदाताको सम्पर्क बाहिर रहेका र भिसा र राहदानीको म्याद सकिएका नेपाली कामदारलाई जतिसक्दो छिटो दुतावासको सम्पर्कमा आउन समेत दुतावासले अनुरोध गरेको छ । यस्तै, पासपोर्टको म्याद सकिएकाहरुलाई ट्रभल डकुमेन्ट बनाउन परेमा वा आममाफी बारे थप जानकारी चाहिएमा दुतावासमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ । आपराधिक गतिविधिमा संलग्नको हकमा भने आममाफीको प्रक्रिया लागू नहुने दुतावासले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार