काेरियाले दाेस्राे चरणमा नेपालबाट ९६ जना कमिटेड कामदार लैजाने पक्का !



काठमाडौं । दक्षिण कोरियाले नेपालबाट रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया पुगेर फर्किएका प्रतिवद्ध कामदार लैजान सुरु गरेको छ। कात्तिक १० गतेदेखि प्रतिवद्ध कामदार पठाउन सुरु गरिएको हो। पहिलो चरणमा ४८ जना कामदार कोरियाले तोकेको मापदण्ड पालना गरी पठाइएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। दोस्रो चरणमा ९६ प्रतिवद्ध कामदार पठाउने तयारी गरिएको विभागका महानिर्देशक दीपक काफ्लेले बताए।

‘धेरै लामो समयदेखिको प्रयासपछि प्रतिवद्ध कामदार पठाउन थालिएको छ। अब क्रमशः नयाँको पनि पालो आउँछ, महानिर्देशक काफ्लेले सेतोपाटीसँग भने। प्रतिवद्ध कामदार जाने बाटो खुलेपनि कोरियाबाट रोजगार सम्झौता पत्र (लेबर कन्ट्रयाक्ट) आइसकेका सात हजार नेपाली युवाहरु कहिलेदेखि कोरिया जान पाउने भन्ने टुंगो लाग्न सकेको छैन। प्रतिवद्ध कामदार पठाइसकेपछि क्रमशः उनीहरुलाई पनि लैजाने कोरियाको योजना रहेको सरकारको भनाई छ। तर नयाँ कहिलेदेखि जान पाउँछन् भनेर यकिन मिति तय भइनसकेको महानिर्देशक काफ्लेले बताए। कोरियाले नेपाललाई कोभिडको उच्च जोखिमयुक्त मुलुक (रेड जोन)मा राखेका कारण लामो समयदेखि कोरिया रोजगारी प्रभावित बनेको छ।

कोभिडकै कारण हरेक वर्ष हुँदै आएको कोरिया भाषा परीक्षा पनि रोकिएको छ। सन् २०२० र २०२१ को भाषा परीक्षा कोभिडका कारण हुन नसकेको हो। कोरिया सरकारले यो वर्षदेखि हुने इपिएस भाषा परीक्षा अनलाईन प्रणालीमा आधारित (पेपरलेस) हुने बताएको थियो। इपिएस प्रणाली अन्तर्गत हरेक वर्ष हुँदै आएको भाषा परीक्षामा नेपालमा ८० हजारभन्दा बढी परीक्षार्थी सामेल हुने गरेका थिए। सहभागि मध्ये १० हजारभन्दा बढीले भाषा परीक्षा उत्तीर्ण गर्दै आएका थिए। उत्तीर्ण मध्ये ७ हजार बढीले कोरिया रोजगारीको अवसर पाउने गरेका थिए। तर दुई वर्ष भाषा परीक्षा नै नहुँदा १४ हजार बढी युवाहरुको रोजगारी अवसर गुमिसकेको छ।

पछिल्लो समय इपिएस प्रणाली अन्तर्गत कोरिया रोजगारीमा प्रवेश गर्ने नेपालीहरुको आकर्षण बढ्दै गएको छ। सन् २०१९ को भाषा परीक्षामा ८४ हजार २ सय १५ जना युवाहरुले सहभागिता जनाएका थिए। उनीहरु मध्ये १२ हजार ९ जनाले परीक्षा उत्तीर्ण गरेका थिए। उत्तीर्ण गरेका मध्यबाट १० हजार ५० ले दक्षिण कोरिया प्रवेश पाउने बताइएको थियो तर कोरोनाका कारण उनीहरुले प्रवेश पाउन सकेका छैनन्। दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ। सन् २००८ मा ८१ महिलासहित दुई हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएका थिए। उक्त वर्ष ३१ हजार ५२५ जना भाषा परीक्षामा सहभागी भएका थिए भने ३०८ महिलासहित छ हजार ४०६ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए।

सन् २००९ मा भने भाषा परीक्षा सञ्चालन भएन। सो वर्ष अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका ९११ युवाले कोरियाको श्रम बजारमा प्रवेश गरेको इपिएश शाखाको तथ्यांकले देखाउँछ। सन् २०१० मा दुई हजार ३३९, २०११ मा तीन हजार ९८३, २०१२ मा छ हजार ३३२, २०१३ मा पाँच हजार ४६, २०१४ मा छ हजार २८, २०१५ मा पाँच हजार ८६६, २०१६ मा आठ हजार ७९, २०१७ मा सात हजार ८०० र सन् २०१८ मा आठ हजार ५११ ले दक्षिण कोरियामा रोजगारीको अवसर प्राप्त गरेका थिए। नेपालीहरु मेहनती र इमान्दार भएको भन्दै कोरिया रोजगारदाताको छनोटमा पर्दै आएका छन्। सेताेपाटीबाट

प्रकाशित मिति : २०७८ कार्तिक २२ गते सोमवार