अवैधानिक रुपमा मलेसियामा बसेका नेपालीलाई वैधानिक हुने अवसर, दुतावासले निकाल्याे यस्तो सुचना !



क्वालालम्पुर । मलेसियामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई गैर कानुनी अर्थात् ‘अनडकुमण्टेड’ भएर नबस्न आग्रह गरेको छ । मलेसियाको सरकारले त्यहाँ गैर कानुनी भएर रहेका आप्रवासी श्रमिकलाई जरिवाना तिरेर आफ्नो कानुनी अवस्था सुधार्न मौका दिएको छ ।

अनडकुमेण्टेड हुँदा नेपाली श्रमिक जेल पर्ने गरेको पाइएको भन्दै समयमै मलेसिया सरकारले प्रदान गरेको अवसरको फाइदा उठाइ आफ्नो कानुनी अवस्था सुधार्न दूतावासले आग्रह गरेको हो । अहिले अवैधानिक भएकाहरुलाई मलेसियाको सरकारले डिसेम्बर अन्तिम सम्म घर फर्किनको लागि रिक्यालिब्रेशन अवधि थप गरेको छ ।

रिक्यालिब्रेशन कार्यक्रम अन्तर्गत मलेसियाले गैर कानुनी श्रमिकलाई दुई अवसर दिएको छ । पहिलो निश्चित शुल्क तिरेर स्वदेश फर्कन पाइन्छ भने दोस्रो चाहिँ पुनःमलेसियामा आफ्नो कागजात सच्याउँदै कानुनी रूपमा काम गर्न पाइन्छ ।

त्यसको लागि एक सय ६० मलेसियन रिंगिट राजस्व तिरेर दूतावासमा आइ ट्राभल डकुमेण्ट बनाउनुपर्छ । ट्राभल डकुमेण्ट दूतावासले दुई दिनमा उपलब्ध गराउँछ । त्यसपछि ट्राभल डकुमेण्ट, टिकेट र ७२ घण्टाको पीसीआरको नेगेटिभ रिपोर्ट लिएर केएलआईए काउण्टरबाट चेकआउट मेमो लिएर नेपाल फर्किन सकिन्छ । पीसीआर रिपोर्ट पोजेटिभ भएको खण्डमा नेपाल फर्किन नपाइने पनि दूतावासले प्रष्ट पारेको छ ।

यस्तै मलेसिया सरकारले नेपाल लगायत दक्षिण एसियाली पाँच देशलाई खुल्ला गरेको छ । तर वैदेशिक रोजगारीको लागि अथवा नेपालबाट मलेसियामा श्रमिक लैजनाको लागि खुला नगरेको पनि दूतावासले प्रष्ट पारेको छ । दूतावासले आफ्नो साप्ताहिक फेसबुक लाइभमा यस विषयमा प्रष्ट पारेको हो ।

भिसा पर्याप्त अवधिसम्मको लागि भएमा नेपाल जान सकिने र नेपालबाट पुनः मलेसिया जानुपर्ने भएमा मलेसियाको इमिग्रेशनबाट एप्रुभल लिनुपर्ने जनाएको छ । इमिग्रेशनबाट एप्रुभल लिएमा मात्र मलेसिया फर्किन पाइने र नलिएमा फर्किन नपाइने पनि दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार