दक्षिण कोरियाको सर्तअनुसार कामदार पठाइँदै, अबदेखि यूबीटीबाट भाषा परीक्षा



सिओल । कोरोना महामारीका दक्षिण कोरिया जान नपाएका कामदारलाई पठाउने तयारी भएको छ । कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले राखेको सर्तअनुसार नै कामदार पठाउने गरी तयारी भैरहेको वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले जानकारी दिएको छ ।

यसअघि एचआरडीको सर्तअनुसार पठाउँदा लागत खर्च बढेको भन्दै कामदार पठाइएको थिएन । सो सर्त अनुसार नेपालबाट जाने कामदारको कोभिड बीमा हुनुपर्ने, सिधा हवाई उडान हुनुपर्ने र १४ दिन होटल क्वारेन्टिनको खर्च कामदार स्वयंले व्यहोर्नुपर्ने छ । हाल भने ती सर्तअनुसार नै कामदार पठाउने गरी तयारी भएको हो ।

दक्षिण कोरिया जाने कामदारको बीमा गर्न विभागले अजोड, प्रिमियर, शिखर, एनएलजी, प्रभु र आईएमई इन्स्योरेन्स कम्पनी छनोट गरेको छ । यी कम्पनीले कोरिया जाने कामदारको ५ हजार अमेरिकी डलरसम्मको कोरोना बीमा गर्नुपर्ने छ । कोरियाका लागि सिधा उडान गर्नका लागि टेण्डर समेत आह्वान भैसकेको छ ।

‘सिधा उडानको लागि गत महिना नै टेण्डर आह्वान भएको छ । अक्टोबरमा सिधा उडानको सम्झौतापछि नियमित उडान हुन्छ, अनि कामदार पठाउन सुरु गरिन्छ,’ ईपीएस शाखाका निर्देशक सुरेश राउतले भने, ‘कोरिया सरकारले राखेको सर्तअनुसार कोरियाली भाषा उत्तीर्ण गरेका कामदार रोजगारीमा जान इच्छुक देखिए । त्यहीअनुसार तयारी गरिएको हो ।’

कोरोना बीमा र सिधा उडानको सम्झौतापछि कामदार कोरिया पठाउने प्रक्रिया सुरु हुने उनले बताए । एचआरडी र ईपीएस शाखाले दक्षिण कोरिया कामदार पठाउने मिति नतोके पनि नोभेम्बर अन्तिमदेखि कामदार पठाउने तयारी भैरहेको छ ।

विभागका अनुसार भाषा परीक्षा उत्तीर्ण गरेका करिब १२ हजार कामदार रोकिएका छन् । नियमित भाषा परीक्षा पास गरेर ‘लेबर कन्ट्रयाक्ट’ आइसकेका करिब ५ हजार र कोरियाबाट प्रतिबद्ध कामदारका रूपमा फर्किएका ३ हजार श्रमिक प्रक्रिया पुगे पनि रोकिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । शिलापत्र

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार