माइकले हानेर सभामुखको टाउको फुटाउछु भन्ने एमाले महिला सांसद को हुन् ?



काठमाडौं । एमाले सांसद रेखा झाले संसदमा शुक्रबार माइकले हानेर सभामुख अग्नि सापकोटाको टाउको फुटाउन खोजेको र एमाले अध्यक्ष केपी शर्मा ओलीले रोकेको प्रतिक्रिया दिएकी छन्। हुलदंगाबीच संसदमा खसेको माइक टिप्नै लाग्दा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई रोकेका थिए। ओलीले ‘नगर्नू’ भनेर रोकेपछि आफू रोकिएको झाले बताइन्।‘मैले त माइकले हानेर सभामुखको टाउको फुटाउन खोजेको थिएँ, तर मलाई अध्यक्षज्यूले रोक्नुभयो,’ झाले संसद सकिएपछि संवाददाताहरुसँग भनिन्।

विपक्षीको विरोधका बाबजुद अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गरेका छन्। अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पढिरहँदा एमालेका सांसद भने उग्र हुँदै नाराबाजी गरिरहेका थिए। त्यसैबीचमा एक जना सांसदले टेबलमा रहेको माइक तानेकी थिइन्। उनलाई त्यहाँ खटिएका मर्यादापालकले रोकेका थिए। माइक तान्ने एमालेकी सांसद रेखा झा हुन्। उनी रौतहटकी समानुपातिक सांसद हुन्।

एमाले सांसदको आक्रोश, बुई चढेर रोष्टम कब्जा गर्न खोज्ने को हुन् ?
आफ्नो सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत परिवर्तन गरेर बाचन गरेका अर्थमन्त्री जनार्दन शर्मालाई रोक्न एमालेका सांसदले अनौठो तरिका अपनाएका छन् । प्रमुख प्रतिपक्षको अवरोध र नाराबाजीका बीच सभामुखले जबरजस्ती संसदको कारबाही अघि बढाएको भन्दै एमालेका सांसदहरू मर्यादापालकसँग ठेलमठेल गर्दै रोष्टमतर्फ अघि बढ्न खोजेका छन् ।

पूर्व वनमन्त्री नारदमुनी राना थारु, पूर्व सहायक मन्त्री आशा विक र नरबहादुर धामीले एमालेकै अन्य सांसदको बुइमा चढेर रोष्टमतर्फ जान खोजेका हुन् । उनीहरूलाई मर्यादापालकले रोक्न हम्मे(हम्मे परेको थियो । राना कैलाली ५ बाट प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गरेका सांसद हुन् ।

धामी एकीकृत समाजवादीकी सांसद राकुमारी भाक्री अनेरास्ववियूको अध्यक्ष हुँदा कोषाध्यक्ष थिए । अर्को पटक महासचिवमा पराजित भए पछि उनी जिल्ला राजनीतिमा केन्द्रित भएका थिए । विक बझाङबाट प्रतिनिधित्व गर्ने सांसद हुन् ।

क्यान्सर रोगीलाई मासिक ५ हजार, गरिबलाई १० हजार रुपैया भत्ता दिने सरकारको घोषणा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पाँच लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा गरेका छन् । शुक्रवार संसदमा प्रतिस्थापन विधेयक पेश गर्दै कोरोना महामारीलगायतले काम गुमाएका गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा गरेका हुन्। अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले अनुदान रकम दिने घोषणा सरकारले गरेको छ।

नेकपा एमालेको विरोधबीच सरकारले प्रतिष्ठापन विधेयक ल्याएको छ। उक्त संशोधित बजेटमार्फत अर्थमन्त्रीले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च मासिक ५ हजार रुपैयाँ दिने घोषणा गरे । यस्तै राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका ब्यक्तिको परिवारका लागि मासिक ३ हजार रुपैयाँ दिने ब्यवस्था गरेको बताए । सरकारले बजेटको आकार घटाउँदै संशोधित बजेट संसदमा पेश गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार नेकपा एमालेको नाराबाजीको बाबजुद १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।

अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा अहिले ३७ अर्बले बजेट घटाइएको छ । यसपटक १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ । कुल विनियोजनमध्ये संघको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१।४२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रूपैयाँ अर्थात २३।१६ प्रतिशत अर्थात र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११।६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरण मार्फत ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३।७२ प्रतिशत बजेट छुट्याइएको छ ।

यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए। त्यसमा चालूतर्फ ६ खर्ब ६८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब विनियोजन गरिएको थियो।

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार