परदेशकाे पिडा : ‘प्रहरीले हतकडी लगाएर विमानस्थल लग्यो, कम्पनीले पासपोर्ट ल्याइदियो, तलब दिएन’



जान त म पनि कमाएर आउला भन्ने सपना बोकेर परदेश गएको थिएँ । तर सपनाहरु कहिलेकाहीँ सोचेभन्दा पनि कहालीलाग्दो खाडलमा डुब्दा रहेछन् । जुन हर कोही परदेशीले कल्पना गरेकै हुँदैन ।

नेपालबाट कतार जाने बेलामा मलाई इलेक्ट्रिसियनको काममा भनेर पठाइएको हो । तर कतार पुगेपछि ठिक उल्टो काम गर्नुपर्‍यो । मलाई कतारमा हेल्परको काम गर्न लगाइयो । काम गर्नकै लागि भनेर अर्काको देशमा पुगिसकेपछि काम गर्दिन भन्ने त कुरै भएन । पाइप फिटिङको काम लगाइयो । कम्पनीले जे काम लगायो गरेँ ।

कम्पनीले काम गरे बापतको तलब दिन भने सुरुवाती दिनदेखि नै गडबडी गर्‍यो । दुई महिना काम गरेपछि मात्र तलब दियो । दुई महिनाको तलब सधैँ होल्ड गरेर राख्यो । कम्पनीको नियम नै त्यस्तो होला भन्ने भयो । केही भनिएन । भनेको भए पनि हाम्रो कुरा सुन्ने वाला कोही पनि थिएन त्यहाँ ।

जसोतसो काम गरियो । दुई वर्षको करार अवधि सकिन लागेको थियो । कोरोना महामारीले कतारमा पनि विभिन्न नियमहरू लागू थियो । एक दिन कम्पनीले तलब हालिदिएको खबर आयो । तलब लिनका लागि बाहिर बैङ्कमा जानु पथ्र्यों ।

मसहित एउटै कम्पनीमा काम गर्ने एक दुई जना थप साथीहरू बैङ्क गयौँ । पैसा निकालेर फर्कँदै थियौँ । प्रहरीले रोक्यो । अकामा माग्यो । दियौँ । किन यस्तो कोरोनाको बेलामा बाहिर हिँडेको भनेर गाली गर्‍यो । हामीले तलब निकाल्नका लागि बैङ्क गएर आएको भनेर आफ्नो कुरा राख्यौँ ।

प्रहरीले त्यसो भए पीसीआर परीक्षण गर्न हिँड् भन्यो । गाडीमा हाल्यो । एउटा बगरमा लग्यो । त्यहाँ त थुप्रै मानिसलाई जम्मा गरेर राखेको रहेछ । के को पीसीआर जाँच गर्न हुन्थ्यो । हामीलाई त सनैया २ नम्बर जेलमा लग्यो ।

सात दिनसम्म त्यही हिरासतमा राख्यो । न कतै फोन गर्न दिन्छ न, कम्पनीको मान्छे कोही आउँछन् । सात दिनको दिनमा हातमा हतकडी लगाएर हाम्रो लेबर क्याम्पमा लग्यो । हतकडी लगाएको हातले के सामान ल्याउन पाउनु र । एक जोर लुगा चाहिँ लगाएँ ।

अनि त्यहाँबाट हतकडी नखोली सिधै एयरपोर्टमा लगेर प्रहरीले छाडिदियो । कम्पनीको मान्छेले त्यही हामीलाई पासपोर्ट ल्याइदियो । पासपोर्ट ल्याइदिए पनि हाम्रो तलब ल्याइदिएन । दुई महिना १५ दिनको बाँकी तलब, ओभर टाइमको रकम र दुई वर्ष काम गर्दाको सेवा सुविधा सबै छाडेर आउन पर्‍यो । जहाज चढ्ने बेलामा मात्रै हतकडी खुल्यो ।

नेपाल आएपछि बाँकी तलब पाउँ भन्दै हामी नेपालमा रहेको कतारी दूतावासमा पनि गयौँ । तर दूतावासले यहाँ हैन परराष्ट्र मन्त्रालयमा जानुहोस् भन्यो । त्यहाँ पनि गयौँ । उहाँहरूले जिल्ला प्रशासन कार्यालयमा पैसा आउँछ भन्नुभयो ।

जिल्लामा जाँदा अहिले रकम आएको छैन आयो भने खबर गर्छौँ भनेर सम्पर्क नम्बर र पासपोर्ट नम्बर छाडेर आयौँ । पैसा आउँछ त भनिएको छ । तर कहिले आउँछ थाहा छैन । आजको दिनसम्म हतकडी नै लगाएर देश किन पठाइयो भनेर पनि मैले बुझेको छैन ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार