एक महिना भित्रै स्थायी शिक्षकको विज्ञापन, मंसिरमा लाइसेन्स परिक्षा



काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षा आगामी मंसिर महिना भित्रै गर्ने तयारी थालेको छ । शिक्षक सेवा आयोगबाट प्राप्त जानकारी अनुसार मंसिर महिना भित्रै लाइसेन्सको परिक्षा सञ्चालन हुनेछ । आयोगले विषयगत परीक्षा लिनेगरी माध्यमिक र निम्नमाध्यमिक तहका लागि नयाँ पाठ्यक्रम तयार पारिसकेको छ ।

आयोगले यसपटक अनलाइनबाटै फारम भर्ने व्यवस्था मिलाउँदैछ भने वस्तुगत प्रश्नको उत्तरपुस्तिका यन्त्र प्रणालीमार्फत् जाँच्ने तयारी गर्दैछ । स्थायी शिक्षकको बिज्ञापन प्रकाशित गरे पछी मात्र शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षा लिने सेवा आयोगको आन्तरिक तयारी रहेको छ। शिक्षकको विज्ञापन अब १ महिना भित्रै हुने बुझिएको छ।

यस पटक परीक्षार्थीको योग्यता पनि तीनै तहका लागि प्रचलित नियमावली अनुसार नै हुने भएको छ । आयोग उच्च स्रोतका अनुसार अनुमति पत्र (लाइसेन्स) को परीक्षा नयाँ पाठ्यक्रम बमोजिम विषयगत हुनेछ ।

आयोगको नियमावलीको नियम ९ अनुसार परीक्षार्थीको न्यूनतम योग्यता माध्यमिकका लागि स्नातक, निम्नमाध्यमिक र प्राथमिक दुबै तहका निम्ति १२ कक्षा वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ । त्यसका लागि १० महिना तालिम लिएको हुनुपर्ने उल्लेख छ ।

शिक्षाशास्त्र बाहेक अन्य विषय अध्यन गरेका परीक्षार्थीहरुले माध्यमिक तहको हकमा ९ वटा विषयः अंग्रेजी, गणित, विज्ञान, लेखा र प्राविधिक विषयहरुमा तालिम नभए पनि परीक्षा दिन पाउने छन ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार