इजरायल रोजगारी : आवेदकको छनाेट लोकसेवा मोडेलमा



काठमाडौं । इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूको लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अबलम्बन गरेको विधि उपयोग गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै लिखित तथा मौखिक परीक्षा लोकसेवा आयोगले अबलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको जानकारी दिएको छ ।

सम्झौताअनुसार इजरायलबाट हाल १ हजार जना सहायक कामदारको माग भएकोमा ९ हजार ६ सय ९९ नेपाली नागरिकहरूले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागले प्राप्त आवेदनहरूको मिहिन अध्ययन गरिरहेको जनाएको छ । विभागबाट आवेदनहरूको अध्ययन गरी तयार हुने अन्तिम सूचीमा रहेका आवेदनकहरू लिखित परीक्षामा सहभागी हुन पाउनेछन् ।

इजरायलमा नेपाली नागरिकहरूलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।मन्त्रालयको तर्फबाट सम्बद्ध कुनै पनि कानून विपरीतका कार्य एवं गतिविधिहरूमा संलग्न नहुन तथा कुनै प्रलोभनमा नपरी पूर्णरुपमा विभागबाट सम्प्रेषित सूचनामा मात्र आधारित हुन अनुरोध गरेको छ ।

साथै, गैरकानूनी रुपमा रकम असुल गर्ने वा कानून विपरीतका कार्य गरी नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताको प्रतिकुल गर्ने जोसुकै व्यक्ति वा संस्थाका सम्बन्धमा प्रचलित कानून बमोजिम कारबाही हुने जानकारी दिएको छ । सम्झौता कार्यान्वयन गर्न नेपाल सरकारले ‘इजरायमा नेपलाी सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८’ जारी गरिससकेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार