दुबईले नेपाल एयरलाइन्सलाई पीसीआर रिपोर्टकै आधारमा दियो उडान अनुमति



काठमाडौँ । दुबई नागरिक उड्डयन प्राधिकरणले पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा नेपाल वायुसेवा निगमलाई उडान भर्न अनुमति दिएको छ । निगम स्रोतका अनुसार दुबई प्राधिकरणले हिजो राति पौने १२ बजे निगमलाई नेपालमै पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा उडान अनुमति दिएको हो । अब निगमले सोमबार र बुधबार गरी साताको दुईवटा उडान भर्न पाउने भएको छ ।

यसअघि निगमका यात्रुलाई पीसीआर परीक्षण गरे पनि दुबई प्राधिकरणले मान्यता दिएको थिएन । गत साउन २५ गते राति बोर्डिङ गर्न लागेको बेला दुबईले यात्रु लिएर आउन निगमको जहाजलाई रोक लगाएको थियो । दुबईले काठमाडौं मेडिकल कलेजबाट गरिएको पीसीआर परीक्षणलाई मान्यता दिएको थिएन । दुबईले रोक लगाउँदा निगमका ६० यात्रु अलपत्र परेका थिएन । निगमको न्यारोबडी जहाज ९एकेएक्स, उडान नम्बर आर ए २९९० लाई उडाएर क्याप्टेन सञ्जय वैद्य रित्तै गए र आज बिहान एक सय ४० यात्रु लिएर फर्केका थिए ।

तर निजी क्षेत्रको हिमालयन एयरलाइन्सलाई भने सोही कलेजले विमानस्थलमै स्थापना गरेको ‘हेल्थ डेस्क’ बाट गरिएको पीसीआर परीक्षणलाई मान्यता दिएको थियो । निगम स्रोतका अनुसार सोमबार राति साढे एघार बजे र बुधबार सोही समयमा साताको दुईपटक निगमले दुबईका लागि उडान भर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार