विदेश जाँदै हुनुहुन्छ : अब यसरी लिनुहाेस् क्युआर काेड सहितको खाेप लगाएको प्रमाणपत्र !



काठमाण्डौ । अब वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाको खोप लगाएको विद्युतीय प्रमाण अर्थात् क्यूआर कोड लिन सहज हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच आज भएको छलफलमा म्यानपावरमार्फत् वैदेशिक रोजगारीमा जानेहरुलाई क्यूआरकोड म्यानपावरबाटै दिलाउन निर्णय भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताउनुभयो ।

म्यानपावर आफैले कामदारको आवश्यक विवरणसहितको अनलाइन पोस्ट रजिष्ट्रेशन गर्नुपर्ने र स्वास्थ्य सेवा विभागले क्यूआर कोडसहितको प्रमाणपत्र सम्बन्धित म्यानपावरको आधिकारिक इमेलमा पठाइने व्यवस्था भएको उहाँको भनाइ छ । इमेलमा प्राप्त क्यूआर कोडसहितको प्रमाणपत्र अन्य कुनै निकायबाट थप प्रमाणीकरण गर्नु पर्ने छैन ।

यस्तै म्यानपावरबाहेक व्यक्तिगत वा पुनः श्रम लिएर जानेहरुको हकमा भने लिंकमा गएर व्यक्तिगत विवरणसहित खोप लगाएको कार्डको फोटो पेस गरी क्यूआर कोड लिन सकिनेछ । क्यूआर कोडसहितको प्रमाण लिन कुनै शुल्क नलाग्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

यो भन्दा पहिले खोप लगाएको क्यूआर कोड लिन तोकिएका निश्चित संस्थामा लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार