कतारमै खोप लगाएकाले पनि कतार प्रवेश गर्दा क्वारेन्टाइन बस्‍नुपर्ने



दोहा | कोभिड-१९ विरूद्धको दुवै मात्राको खोप कतारमै लगाएकाले समेत कतार प्रवेश गर्दा दुई दिन क्वारेन्टाइनमा बस्‍नुपर्ने भएको छ । कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका र कतारी परिचयपत्र वाहक तर खोप नलगाएका हकमा भने १० दिन होटल क्वारेन्टाइन बस्‍नुपर्ने भएकाे हाे । होटल क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा कोभिड नेगेटिभ आएपछि मात्र आफ्नो गन्तव्य स्थल जान पाइने कतारस्थित नेपाली राजदूतावासले जनाएको छ ।

शनिबारदेखि लागू हुने उक्त नियम नेपालबाट कतार जानेहरुलाई मात्र नभई सबैलाई लागू हुनेछ । खोप नलगाएका (पारिवारिक, पर्यटक र व्यापारीक भिसा) यात्रुहरूलाई प्रवेश नदिने दूतावासले जनाएको छ । नेपालमा खोप लगाएर कतार काम गर्न जानेको हकमा १० दिन क्‍वारेन्टिनमा बस्‍नुपर्नेछ । कतारमा नै खोप लगाएका वा काेभिड भएर ठीक भएकाकाे हकमा मात्र दुई दिन क्वारेन्टाइन तोकिएको हो ।

कतारस्थित नेपाली राजदूतावासद्वारा जारी सुचना : नेपालबाट कतार प्रवेश गर्दा अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने मापदण्ड लागू हुने सम्बन्धी जानकारी । २ अगस्ट २०२१ (तदनुसार २०७८ श्रावण १८ गते) देखि लागू हुने गरी कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि जारी गरेको अद्यावधिक मापदण्ड अनुरुप नेपालबाट कतार यात्रा गर्ने यात्रुहरुले देहायका होटल क्वारेन्टाइनको पालना गर्नुपर्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ:

१. कतारमा दुवै मात्रा खोप लगाएका वा कतारमा कोभिड-१९ संक्रमण भई निको भएका यात्रुहरुको हकमा २ दिन होटल क्वारेन्टिन बस्नुपर्ने । दोश्रो दिनमा पि सी आर परीक्षण गरी नेगेटिभ नतिजा आएपछि आफ्नो गन्तव्यमा जान पाइने ।

२. कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका QID वाहक यात्रुहरूले १० दिन होटल क्वारेन्टाइन बस्नुपर्ने।

३. खोप नलगाएका (पारिवारिक, पर्यटक वा बिजनेश भीसा अन्तर्गतका) यात्रुहरूलाई कतारमा प्रवेश नदिईने । थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्नुहोला ।
२०७८ श्रावण १५
नेपाली राजदूतावास
दोहा, कतार ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार