भाषा परीक्षा पास गरेकालाई छिटो लैजान कोरियासँग अर्थ मन्त्री शर्माको आग्रह



काठमाण्डाै | नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सकले अर्थ मन्त्री जनार्दन शर्मासँग आज बुधवार शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा अर्थ मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिनसमेत आग्रह गर्नुभयो । ‘ईपीएस अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौँ युवा बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु’, मन्त्री शर्माले भन्नुभयो ।

जवाफमा राजदूत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिनुभयो ।नेपालीहरूको मेहनत र इमानदारिताबाट कोरियाली रोजगारदाताहरू खुसी रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूत पार्कले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरूलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । भेटका क्रममा अर्थ मन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली नागरिककाे तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत् लगायतका क्षेत्रमा लगानीसमेत गर्दै आइरहेको छ । कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधा सम्पन्न अस्पताल निर्माण भएकाे छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिक्लिनिक कलेजको स्थापना गर्दैछ । यस कलेजले निर्माण क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्नेछ । मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोसिस गरिने बताउनुभयो ।

भेटका क्रममा राजदूत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढिलाइबारे चासो राख्नुभएको थियो । आयोजनामा ढिलाइ हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार