साउदी जाने र आउने श्रमिकलाई हिमालय एयरलाइन्सको ठ गी !



हिमालय एयरलाइन्सले रोजगारीका लागि साउदी अरेबिया जाने र आउने निमुुखा नेपालीलाई हवाई टिकट र होटेल क्वारेन्टिनका नाममा चरम शोषण गरिरहेको छ । यो एयरलाइन्समा सरकारले अतिरिक्त संरक्षण गरेको यती समूहको लगानी छ । साउदी अरेबियाको उडानमा अर्को प्रतिस्पर्धी नभएको फाइदा उठाउँदै हिमालयले क्वारेन्टिनसहित एकतर्फी भाडा नै दुई लाख रुपैयाँसम्म असुली गरिरहेको छ । जब कि सामान्य अवस्थामा साउदीको दुईतर्फी भाडा नै ३० देखि ४५ हजार रुपैयाँ मात्रै हुन्छ ।

हिमालयले होटेल क्वारेन्टिनसहितको प्याकेज जोडेर चार्टर उडानको एकतर्फी भाडा नै दुई लाख र नियमित उडानतर्फ एक लाख ९० हजार रुपैयाँसम्म असुली गरिरहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा०का वरिष्ठ उपाध्यक्ष विनय बस्नेतले बताए । साउदी अरेबियाका लागि नियमित उडान खुले पनि नेपाल एयरलाइन्सले उडान गर्न सकेको छैन । साउदीमा जिएसए नियुक्त नभएकाले उडान हुन नसकेको नेपाल एयरलाइन्सको भनाइ छ ।

स्रोतका अनुसार नेपाल वायुसेवा निगमको सञ्चालक समिति तथा व्यवस्थापनमा रहेका यती समूहका एजेन्टहरूले साउदीमा जिएसए नियुक्त गर्ने विषयमा अवरोध सिर्जना गरिरहेका छन् । सञ्चालक समितिमा रहेका फुर्वा ग्याल्जेन शेर्पा, ईश्वरी पौडेल र किशोर प्रधानले यती समूहका प्रतिनिधिका रूपमा काम गरिरहेको स्रोतको भनाइ छ । ‘उनीहरूले जिएसए नियुक्तिमै अवरोध सिर्जना गरिरहेका कारण अहिले हिमालय एयरलाइन्सले साउदी अरबमा एकछत्र व्यापार लिएको छ,’ स्रोतले भन्यो ।

एयरलाइन्स कम्पनीहरूले चार्टरमा लुट गर्ने मात्रै होइन, नियमित उडानमा पनि चर्को भाडा असुल गरिरहेको नाट्टाका वरिष्ठ उपाध्यक्ष बस्नेतले बताए । ‘एयरलाइन्स कम्पनीहरूले क्वारेन्टिनको रकम कति हो, एयरलाइन्सको भाडा कति हो ?’ उनले भने, ‘एयरलाइन्स कम्पनीहरूसँग कुन–कुन एजेन्सी र होटेल तथा सरकारी कर्मचारीहरूको मिलेमतो छ, छानबिन गरेर कारबाही गर्नुपर्छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा चर्को भाडाका सम्बन्धमा दुई साताअगाडि नै छानबिन समिति गठन गरेको छ । समितिले छानबिन प्रतिवेदन केही सातामै सम्पन्न गर्ने गरी काम गरिरहेको र गल्ती गरेका सबैलाई कारबाहीको सिफारिस गर्ने संयोजक पोखरेलले बताए । अहिले साउदीमा बढी समस्या देखिएकाले ट्राभल एजेन्सीदेखि एयरलाइन्स कम्पनीहरूसँग पनि विवरण मागिरहेको उनले बताए । ‘हामीले जाने र आउने यात्रुसँग नै टिकट चेक गरिरहेका छौँ, कतिलाई युनिट बनाएर सोधपुछसमेत गरिरहेका छौँ,’ पोखरेलले भने ।

सरकारले बिस्तारै धेरै देशमा अब नियमित उडान खुला गरेर यात्रुलाई सस्तोमा उडान गराउने प्रक्रियामा गएकाले निगम पनि सोही बाटोमा रहेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए । ‘साउदी अरेबियामा जिएसए नियुक्त हुन नसक्दा निगमले उडान गर्न पाएको छैन, अब जिएसएको प्रक्रिया पनि अगाडि बढाउँछौँ,’ पौडेलले भने ।

पछिल्लो समयको निषेधाज्ञामा नेपाल एयरलाइन्सले पाउने बिजनेस हिमालयलाई दिलाउन पनि निगममा रहेका यतीका एजेन्टहरूले भूमिका निर्वाह गरेका थिए । निषेधाज्ञाका बीचमा हिमालयले एक सय ६८ वटा उडान गरेको थियो, त्यसमध्ये एक सय १६ वटा चार्टर उडान थिए । जब कि ४१ दिनको निषेधाज्ञामा निगमले ८९ उडान मात्रै गरेको थियो ।

साउदी अरेबियाले भारतमा उडान रोकेपछि भारतीयहरू नेपालको बाटो हुँदै साउदी गएका थिए । ती भारतीयलाई नेपाल वायुसेवा निगमले दिल्लीबाट ल्यायो, तर साउदी अरेबिया लैजान भने निगमले पाएन । ती सबै यात्रुलाई हिमालय एयरलाइन्सले साउदी लगेको थियो ।

यती समूहको लगानी रहेको होटेलमा १० दिन क्वारेन्टिन बस्दा प्रतिव्यक्ति ६५ हजार ठगी

सरकारले तोकेको मूल्यअनुसार तीनतारे होटेलमा १० दिन क्वारेन्टिन बस्दा ३५ हजार तिर्नुपर्छ । तर, हिमालय एयरलाइन्सले साउदीबाट फर्किने श्रमिकलाई गौशालास्थित होटेल आमादब्लममा राखेर एक लाख उठाइरहेको छ ।

सरकारले विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्न पाँचतारेदेखि पर्यटकस्तरीयसम्मका गरेर एक सय १० वटा होटेल तोकेको छ । होटेल हेरेर न्यूनतम एक हजार पाँच सयदेखि अधिकतम ६ हजार पाँच सय रुपैयाँसम्म मूल्य तोकिएको थियो । १० दिन होटेल क्वारेन्टिनमा बस्दा न्यूनतम १५ हजार तिरे पुग्छ । तीनतारे होटेलमा बसेको प्रतिव्यक्ति तीन हजार पाँच सय मूल्य तोकिएको थियो । त्यसअनुसार १० दिन तीनतारे होटेलमा क्वारेन्टिन बस्दा ३५ हजार तिर्नुपर्छ । यो रकममा तीन छाक खानासमेत खान दिनुपर्छ । तर, हिमालयले साउदीबाट आएका नेपालीलाई यती समूहकै लगानी रहेको सिनामंगलस्थित तीनतारे होटेल आमादब्लममा राखेर प्रतिव्यक्ति ६५ हजार रुपैयाँभन्दा बढी ठगी गरिरहेको छ । क्वारेन्टिनबापत मात्रै एक लाख रुपैयाँ उठाइरहेको छ ।

मंगलबारदेखि सरकारले होटेलको वर्गीकरणअनुसार होटेल बस्दा लाग्ने शुल्कलाई हटाएको छ । यो निर्णयसँगै होटेलहरूले आफूखुसी रकम लिन पाउनेछन् । ‘सरकारले होटेलको शुल्क तोक्दा राम्रो सन्देश नजाने देखेर अहिले मूल्य हटाएका छौँ,’ पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भने ।

त्यस्तै, साउदी जानेहरू तीनतारे होटेलमा सात दिन क्वारेन्टिन बस्दा ४० देखि ५० हजार रुपैयाँको हाराहारी खर्च हुन्छ । तर, हिमालयले एक लाख ९० हजारमध्ये एक लाख रुपैयाँ क्वारेन्टिनका लागि भन्दै असुल्ने गरेको एक ट्राभल एजेन्टले बताए । साउदी जान कामदारले मेनपावर एजेन्सीलाई थप एक लाख रुपैयाँ बुझाउनुपर्छ । यसरी श्रमिकहरू साउदी पुग्नका लागि तीन लाखसम्म बुझाउन बाध्य छन् ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० साउदी अरेबियाका अध्यक्ष तेजबहादुर थापाले हिमालय एयरलाइन्सले नेपाली श्रमिकमाथि चर्को शोषण गरिरहेको बताए । ‘कोभिड– १९ को महामारीका कारण आपत्मा परेका नेपालीलाई उद्धार गरेर ल्याउनु त कता हो कता उनीहरूले साउदीमा कमाउने सात महिनाबराबरको रकम हिमालय एयरलाइन्सले हवाई टिकटकै नाममा असुली गरिरहको छ, यो त अत्याचार नै भएको छ,’ उनले भने । यस विषयमा एनआरएनएले साउदीस्थित नेपाली दूतावासमा उजुरी गरेको पनि उनले बताए । साउदी अरेबियामा जाने नेपालीको औसत तलब ३० हजार रुपैयाँ हुने गर्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार