काठमाडौं | ललितपुरको गोदावरी नगरपालिका-७ भुरुनचुलीमा खोलामा पौडी खेल्न जाँदा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षीय जकेस तामाङ रहेका छन्। तीन जनालाई करेन्ट लागेकामा तीनै जनालाई टिकाभैरवस्थित आनन्दवन हस्पिटलमा पुर्याइएको थियो। दुई जनाको उपचार भइरहेको छ ।
विद्युत प्राधिकरणको लापरबाहीका कारण ज्यान गएको भन्दै मृतकका आफन्तले आक्रोश पोखेका छन् । मृतकका आफन्त अनिल मार्पा तामाङले भुरुनचुली खोला छेवैमा विजुलीको पोल रहेकामा त्यो ढलेर पानीमा करेन्ट प्रवाह भएकाले एकको ज्यान गएको बताए ।
‘सुरुमा जकेस नुहाउन पानीमा पसेका रहेछन्। करेन्ट लागेपछि सुरुमा उनले नाटक गरेको हो कि भन्ने अरुलाई लागेछ। त्यसपछि निकाल्न खोज्दा उनीहरुलाई पनि करेन्ट लागेछ’, उनले भने । उनका अनुसार बिजुलीको पोल ढलेपछि स्थानीयले प्राधिकरणलाई खबर गरेपनि त्यसलाई व्यवस्थापन गर्ने काम भएको थिएन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।





