आइतबारदेखि श्रम कार्यालय ताहाचलले नियमित सेवा प्रदान गर्ने



काठमाण्डौ | वैदेशिक राेजगार विभाग, श्रम कार्यालय ताहाचलले आउँदो आइतबारदेखि नियमित सेवा प्रदान गर्ने भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि भएको निषेधाज्ञामा हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्दै आएको कार्यालयले आउँदो आइतबार अर्थात् असार २० गतेदेखि नियमित रूपमा सेवा प्रदान गर्ने जनाएको छ ।

गएको वैशाख २४ गतेदेखि केही समय कार्यालयले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवा बन्द गरिएको थियो । तर सरकारले निषेधाज्ञासँगै अन्तर्राष्ट्रिय उडान पनि खुलाउँदै लगेपछि कार्यालयले नियमित रूपमा श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ । तर अहिले पनि बायोमेट्रिक भएका र अनलाइनबाटै पनि श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरूलाई अनलाइनबाटै सेवा लिन विभागले अनुरोध गरेको छ ।

बायोमेट्रिक नभएका र व्यक्ति स्वयम उपस्थित हुनै पर्ने काम बाहेक अन्य व्यक्तिहरूलाई विभागले सेवा प्रदान नगर्ने पनि जनाएको छ । कार्यालयमा उपस्थित भएर भिडभाड गर्न पाइने छैन । कार्यालय जाने सबैले अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्नेछ ।

प्रकाशित मिति : २०७८ असार १७ गते बिहिवार