द्वन्दग्रस्त मुलुक यमनमा तीन महिना सेवा गरेर फर्के डा. गोविन्द केसी



चिकित्साशिक्षा अभियान्ता डा.गोविन्द केसी द्वन्दग्रस्त मुलुक यमनमा तीन महिना मानवीय सेवापछि मंगलबार साँझ नेपाल फर्केका छन्। डा. केसी यमनमा सेवारत रहँदै नेपालमा कोरोना बढेर लकडाउन सुरु भएपछि उनको यमन बसाई लम्बिएको थियो ।

मार्च २९ मा यमन पुगेका डा. केसीले तीन वटा ठाउँका अस्पतालमा बसेर सेवा गरेको हेल्थपोस्ट नेपाललाई जानकारी दिए । यमनको तादिममा ५ हप्ता, हिडेनमा ३ हप्ता र मरिभमा २ हप्ता बसें । उनले द्वन्दका प्रभावित भएकाहरुका पुरानो हाडजोर्नीका समस्यासँगै थुपै बिरामीका उपचार एवं शल्यक्रिया गरेको बताए ।

‘केही घण्टा बिश्रामबाहेक सबै समय उपचार सेवामा लगाएँ, कति जनाको उपचार गरेँ, रेकर्ड राखिन’ उनले भने । डा. केसी पछिल्लोपटक यमनबाट पैदल र बस यात्राबाट अफ्रिकी मुलुक जिवौती र जिवौतीबाट स्तानबुल हुँदै काठमाडौ फर्किएका हुन् ।

लकडाउन सुरु नहुँदाको अवस्थामा यमनको छिमेकी मुलुक ओमनको मस्कट हुँदै काठमाडौ फर्किने टिकट थियो। उनी द्वन्दग्रस्त मुलुक यमन छिमेकी देश ओमनको ल्याण्डरुटबाट गएका थिए ।

‘अहिले म गएको ल्याण्डरुट पनि बन्द भएछ, त्यसपछि १२ घण्टाको बसयात्राबाट अफ्रिकाको जिवौती पुगेर फर्किएको हुँ’ लामो बसयात्राका कार्यक्रममा खुट्टा सुन्निएको, त्यसको परीक्षण र उपचारका लागि अस्पताल जान लागेको डा. केसी बताए ।

प्रकाशित मिति : २०७८ असार १६ गते बुधवार