दमाम-काठमाडौं हप्तामा २ उडान, आधिकारिक ट्राभलबाट टिकट लिन दूतावासको आग्रह



साउदीस्थित नेपाली दूतावासले दमाम-काठमाडौं हप्तामा २ हवाई उडान हुने जानकारी दिएको छ । दूतावासले आफ्ना फेसबूक पेजमा सूचना जारी गरेर उडान हुने जनाएको हो ।

` अन्तर्राष्ट्रिय हवाई उडान तालिकासम्बन्धी सूचना
जनस्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना हुनेगरी केही मुलुकका लागि सिमित संख्यामा अन्तर्राष्ट्रिय हवाई उडानको अनुमति दिने नेपाल सरकारको निर्णयबमोजिम नेपाल उड्डयन प्राधिकरणले प्रकाशन गरेको साप्ताहिक हवाई उडान तालिका यससँगै पोष्ट गरिएको छ । जसअनुसार काठमाडौं-दमाम-काठमाडौं सेक्टरमा हप्तामा २ वटा उडान राखिएको ´ दूतावासको सूचनामा लेखिएको छ ।

दूतावासको सूचनामा ` यसका अतिरिक्त साप्ताहिक रुपमा कतारबाट-७, युएईबाट-५, कुवेतबाट-२ र ओमानबाट-१ वटा उडान राखिएको देखिएकोले ती मुलुकलाई ट्रान्जिट बनाएर समेत नेपाल जान सकिने ´ उल्लेख छ । टिकट खरिद तथा अन्य जानकारीका लागि सम्बन्धित एयरलाइन्सका आधिकारीक ट्राभल एजेन्सीमा सम्पर्क गर्न समेत दूतावासले आग्रह गरेको छ ।

` नोट: हाल सिमित अन्तर्राष्ट्रिय उडान भैरहेको अवस्थामा केही ट्राभल एजेन्सीहरूले तोकिएको भाडा भन्दा अत्याधिक चर्को भाडा असुल गरेको भन्ने गुनासोहरूका सन्दर्भमा विस्तृत छानबिन गर्न तथा आवश्यक कारबाहीको सिफारिस गर्न पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको व्यहोरा समेत जानकारी गराइएको ´ दूतावासको सूचनामा लेखिएको छ ।

दूतावासका अनुसार साउदीबाट नेपाल फर्किने कामदारहरूले पछिल्लो ७२ घण्टाभित्रको पिसिआर परीक्षण रिपोर्ट र सिसिएमसि बारकोड अनिवार्य साथमा बोक्नुपर्छ । त्यस्तै काठमाडौं पुगेपछि ५ दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्ने र पुनः पिसिआर परीक्षण नेगेटिभ आएमा थप १० दिन होम क्वारेन्टिनमा बस्नेगरी घर जान पाइने दूतावासको भनाइ छ ।

प्रकाशित मिति : २०७८ असार १२ गते शनिवार