ईसिडि शिक्षक र विद्यालय कर्मचारीकाे तलब नबढाए शिक्षक महासंघले आन्दोलन गर्ने !



काठमाडौँ । सरकारले बजेटमार्फत घोषणा गरे अनुसारको तलब वृद्धि नगरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक सङ्घ भद्रपुरले आपत्ति जनाएको छ । असार ८ र ९ गते सम्पन्न भद्रपुर नगरपालिकाको आठौँ नगर सभाले आर्थिक वर्ष ०७८/०७९ को बजेट, नीति तथा कार्यक्रममा प्रारम्भिक बाल विकास केन्द्रका शिक्षक र कर्मचारीको तलब १५ हजार नपुर्‍याएको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक सङ्घ भद्रपुरले बिहीबार एक विज्ञप्ति निकाल्दै आपत्ति जनाएको हो।

सरकारले तोकेको मासिक १५ हजार तलब कार्यान्वयनमा ल्याउन भन्दै नेपाल शिक्षक महासंघ, बाल शिक्षक र विद्यालय कर्मचारी परिषद् नगर समितिले गत जेठ २७ गते नगरपालिकाकालाई लिखित रूपमै ध्यानाकर्षण गराएको थियो। तर, नगरपालिकाले नगर सभाबाट पारित गरेको बजेट, नीति तथा कार्यक्रममा बाल शिक्षकको तलब ३ हजार र कर्मचारीको तलब २ हजारका दरले बढाउने उल्लेख गरेको छ।

सरकारको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री विष्णु पौडेलले बाल शिक्षक र कर्मचारीको अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याएको र सम्बन्धित पालिकाले सात हजार थप गरेर न्यूनतम मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था लागु गरेको थियो । नगरपालिकाले सात हजार बढाउनुको साटो ३ हजार र २ हजार तलब बढाएको नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक सङ्घ भद्रपुरको आपत्ति रहेको नेपाल शिक्षक महासंघ नगर समितिका अध्यक्ष गणेश गिरीले बताए।

नगरपालिकाले वृद्धि गरेको तलबलाई पुनर्विचार गरी सरकारले बजेटमार्फत घोषणा गरेको तलब कार्यान्वयन ल्याउन सङ्घको माग रहेको उनको भनाइ छ । नगर सभामा ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीलगायत केही जनप्रतिनिधिले पनि बाल शिक्षक र कर्मचारीको तलब सरकारले तोकेअनुसार दिनुपर्ने आवाजसमेत उठाएका थिए।

वडाध्यक्ष सुब्बाका अनुसार सरकारले तोकेअनुसार तलब वृद्धि गर्नुपर्ने आवाज नगर सभामा उठाएको हो। ‘त्यति मात्र नभएर नगरपालिकाले सरकारसँग कोरोना खोप माग्नुपर्ने आवाज पनि उठाएका थियौं,’ उनले भने, ‘तर नगरपालिकाले हाम्रो मागलाई सम्बोधन नगरी नीति तथा कार्यक्रम पारित गर्यो।’

नगरभित्र ५७ जना बाल शिक्षक, मावि स्तरका कर्मचारी १६ जना, आधारभूत स्तरका कर्मचारी १६ जना र प्रावि स्तरका कर्मचारी १५ जना छन्। नगरपालिकाले अहिले बाल शिक्षकलाई मासिक ७ हजार ५ सय, माविस्तरका कर्मचारीलाई ११ हजार ५ सय, आधारभूत स्तरका कर्मचारीलाई ७ हजार ५ सय र प्राविस्तरका कर्मचारीलाई ४ हजार ५ सय मासिक तलब दिँदै आएको छ।

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार