
काठमाडौं | लकडाउन खुकुलो भएसँगै त्रिभुवन विश्वविद्यालयले अब धमाधम परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले बाँकी रहेका परीक्षाको फारम अनलाइनमार्फत खुलाउने र क्रमिक रुपमा परीक्षा सञ्चालन गर्दै जाने निर्णय गरेको हो ।
स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै सुरु गर्ने
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह प्रथम वर्षका विद्यार्थीको परीक्षा आवेदन फारम भरेर क्याम्पसलाई बुझाउन दिएको समय असार ७ गते सोमबार सकिएको छ । त्रिविले फारम रुजु गरेसँगै परीक्षा तालिका प्रकाशन गर्ने र विद्यार्थीले साउनभित्र स्नातक तह प्रथम वर्षको परीक्षा दिने व्यवस्था मिलाउन लागिएको छ ।
यसलगत्तै स्नातकोत्तर दोस्रो वर्षको विज्ञान संकायबाहेक सबै संकायको परीक्षाको सूचना असार १५ गतेभित्र प्रकाशित गर्ने, एलएलबी प्रथम वर्षको परीक्षा र पहिले नै सूचना प्रकाशित भएका सबै परीक्षा भदौ १५ गतेभित्र सम्पन्न गर्ने गरी तयारी थालेको पनिकाले जनाएको छ । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार विद्यार्थीलाई पायक पर्ने स्थानबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फरकफरक सिफ्टमा परीक्षा सञ्चालन गर्ने तयारी भएको छ ।
उनले भने, ‘हामीले रोकिएका परीक्षाको धमाधम फारम खुलाउँदै जाने र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पुरानो रोकिएका परीक्षा सञ्चालन गर्दै जाने तयारीमा छौँ । पुरानो बाँकी रहेका परीक्षा सकिएलगतै अन्य परीक्षा सञ्चालन गर्ने गृहकार्य हुदैछ । रुटिन तयार भईसेकेको छ, मिति हाल्न मात्र बाँकी छ ।’
नयाँ स्नातकोत्तर प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीका लागि लिइने प्रवेश परीक्षाको फारम विज्ञान, व्यवस्थापन, शिक्षा संकायको खुलिसकेको र मानविकी संकायको १५ गतेपछि खुल्ने पनिकाले जनाएको छ । यता सेमेस्टर प्रणालीमा अध्ययन हुने स्नातकोत्तर प्रथम वर्षको भर्नाको लागि प्रवेश परीक्षाको आवेदन फारम त्रिविले यसअघि नै खुलाइसकेको छ । स्नातक तह प्रथम वर्षको मेडिकल शिक्षातर्फको भर्नाका लागि भने चिकित्सा शिक्षा आयोगले असार २६ गतेबाट एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ ।
त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानले यसअघि रोकिएको स्नताक तह प्रथम वर्षको परीक्षा साउन १९ गतेबाट सञ्चालन गर्ने जनाएको छ । यसका लागि विद्यार्थीले असार ३० गतेभित्र परीक्षा फारम भरिसक्न परीक्षा नियन्त्रण महासाखाले सूचित गरेको छ । पनिकाले स्नातक चौथो वर्ष व्यवस्थापन संकायको र मानविकी तेस्रो वर्षको नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटेको जनाएको छ ।