
काठमाडौं : केही दिनअगाडि बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले अन्तर्राष्ट्रिय उडान भइरहेका देशमा हाल भएको उडान संख्या बढाउने र ६ देशमा सातामा दुई हजारभन्दा बढी यात्रु नहुनेगरी अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गर्यो।
यो निर्णय असार २ गते, बुधबार भए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन। असार २ गते बसेको सीसीएमसीको बैठकले कतार, टर्की, साउदी अरब, यूएई, मलेसिया र जापानमा उडान गर्ने निर्णय गरेको थियो। कतार र टर्कीको हकमा अहिले हुँदै आएको उडान संख्या दोब्बर गर्ने र अन्य देश (साउदी अरब, जापान, मलेसिया र यूएई)को हकमा सातामा दुई (एउटा नेपाली, एउटा विदेशी) उडान गर्ने निर्णय सीसीएमसीले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले बताए।
तर, उक्त विषय सीसीएमसीपछि पर्यटन मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा गएर निर्णय हुनुपर्ने भए पनि अहिलेसम्म मन्त्रालयमा नआइसकेको मन्त्री अरगरियाको भनाइ छ।सरकारले उडान गर्न लागेको टर्कीमा अहिले नै टर्किस एयरलाइन्सले सातामा एउटा उडान गरिरहेको छ। अब यो निर्णय कार्यान्वयनमा आएपछि त्यहाँ सातामा दुईवटा उडान हुने पर्यटन मन्त्रालयको भनाइ छ।
यसैगरी कतारमा कतार एयरवेजले एउटा र नेपाल एयरलाइन्सले सातामा एक-एक उडान गरिरहेका छन्। कतारमा पनि सातामा दुई-दुई वटा उडान हुने मन्त्रालयले जनाएको छ। तर, उडान खुला गर्ने निर्णय भएको यूएईमा भने उडान नहुने भएको छ। यूएईले नेपालमाथि लगाएको उडान प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेकाले त्यहाँ उडान नहुने भएको हो।
यसैगरी मलेसियाको उडानको विषय पनि अन्योलमै रहेको छ। मलेसियाले नेपालमाथि यसअघि लगाएको उडान प्रतिबन्धबारे कुनै निर्णय गरेको छैन। तर, मलेसियमा रहेको नेपाली दूतावासले भने त्यहाँ उडान गर्न पहिलेदेखि नै दबाब दिँदै आएको थियो। भारतमा एयर-बबल उडानमार्फत् सातामा एउटा उडान निरन्तररुपमा भइरहेको छ। जापानमा पनि उडान हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले जापानमा उडान प्रतिबन्ध लगाइएको छैन। यद्यपि, जापानमा पहिलो चरणमा सातामा एक मात्रै उडान हुनेछ।
साथै, साउदी अरबको हवाई उडानमा पनि समस्या नरहेको प्राधिकरणको भनाइ छ। साउदीमा यसअघि पनि नेपालमा रोकिएका भारतीय नागरिक लैजान छ वटा उडान भएका थिए। थप उडान गर्ने निर्णय भएका देशमा विस्तारै उडान सुरु हुने तर यही दिनबाट हुन्छ भनेर यकीन गरेर भन्न नसकिने पर्यटनमन्त्री अरगरिया बताउँछन्। उनले सीसीएमसीले गरेको निर्णय मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको छलफलबाट उडान तालिका तय हुने बताए।
उडान खुला गर्दा नेपाल आउने यात्रुको हकमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने र ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य चाहिने उडान सर्तमा राखिएको छ। यसैगरी, नेपालबाट विदेश जाने श्रमिकको हकमा भने १५ दिन क्वारेन्टिन बस्नुपर्दा लाग्ने १० दिनको शुल्क सरकारले तिरिदिने र पीसीआर सरकारले मान्यता दिएको सबै ल्याबबाट हुने उडान सर्तमा राखिएको छ।