काठमाडौं उपत्यकामा पुनः एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी



काठमाडौं । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ । उपत्यकामा यसअघि थप गरिएको निषेधाज्ञा यही असार ७ गते राति १२ बजेसम्म जारी रहनेछ । यसैबीच उपत्यकामा पुनः एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरु एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारीमा जुटेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा पुनः एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी भइरहेको जानकारी गराएका हुन् । उपत्यकाको संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएको र एकैपटक निषेधाज्ञा हटाइहाल्यो भने पुनः कोरोना महामारी नियन्त्रण बाहिर जानेमा आफूहरु सजग रहेको प्रजिअ पराजुलीको भनाइ छ ।

निषेधाज्ञा तत्कालै हटाइहाल्न नमिल्ने तर, चरणबद्ध निषेधाज्ञा खुकुलो बनाउदै लैजाने आफूहरुको योजना रहेको प्रजिअ पराजुलीले बताए । पछिल्लो समय निषेधाज्ञामा कडाई गर्ने भन्दा पनि संक्रमणदर पुनः नफैलिने गरी व्यवस्थापन गर्नतिर आफूहरु लागिपरेको उनले बताए ।

उनका अनुसार अब थप गरिने निषेधाज्ञालाई कसरी व्यवस्थित गरिने भन्नेतर्फ प्रशासनको ध्यानकेन्द्रित भएको छ । त्यसोत, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले असार ७ गतेपछि निषेधाज्ञाको स्वरुप परिवर्तन गरेर निषेधाज्ञा थप गर्ने निर्णय गरिसकेको छ । गत बुधबारको सीसीएमसीको बैठकले निजी तथा सार्वजनिक सवारी–साधन समेत चल्न दिने गरी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो, यस विषयमा समेत प्रशासनका अधिकारीहरुले छलफल गरिरहेका बताइएको छ ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार