दुबई–काठमाडौ एकतर्फी उडान सुरु गर्दै नेपाल एयरलाइन्स !



युएई । नेपाल एयरलाइन्सले आगामी जुन २३ तारिखदेखि दुबई–काठमाडौ एकतर्फी उडान सुचारु गर्ने भएको छ । कोभिड १९ का कारण अन्तराष्ट्रिय उडान स्थगन भएपछि संयुक्त अरब ईमिरेट्स (युएई) मा रोकिएका नेपालीहरुलाई लक्षित गरि एकतर्फी उडान शुरु गर्न लागेको नेपाल एयरलाइन्सका युएई कन्ट्री म्यानेजर टिकाराम पंगेनिले जानकारी दिएका छन। एयरलाइन्सले आगामी जुन २३ र ३० तारिख दुबईदेखि काठमाडौंको उडान भर्ने छ। यसको सम्पुर्ण तयारी पूरा भईसकेको र मंगलबारबाट टिकट बिक्री समेत सुरु भैसकेको पंगेनीले बताए।

नेपालले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछी घर जान नपाएका सयौं नेपालीहरु युएईमै अड्किएका थिए। यी मध्ये कैयौंको ओभरस्टे जरिवाना समेत शुरु भईसकेको छ। सरकारकाे निर्णय अनुसार गएको बैशाख २३ देखि भएको उडान निलम्बनका कारण मध्यपुर्वमा मात्रै हजारौं नेपाली प्रभावित भएका छन।

विभिन्न समयमा वैदेशिक रोजगारमा गएका मानिसहरू कोभिडका कारण अलपत्र परेकाले सहज उद्धार गर्नुपर्ने भएकाले नियमित उडानलाई सरकारले प्राथमिकता राखिएको पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी बताए । नियमित उडान नहुँदा धेरै नेपालीहरू विदेशमा अलपत्र परेको विदेशस्थित दूतावसाले गुनासो गरेपछि विभिन्न देशहरुमा नियमित उडान चाडैनै खोलिने उनले बताए ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार