भोलि देखि कतार भिसा सेन्टर खुल्ने, कामदारहरूको बायोमेट्रिक र स्वास्थ्य परीक्षणको काम हुने



काठमाण्डौ – भोलि अर्थात् जुन ७ देखि कतार भिसा सेन्टर खुल्ने भएको छ । जुन ७ देखि नै कतार र नेपालबीच हप्तामा एक दिन उडान सुरु हुने भएपछि कतार भिसा सेन्टर पनि सञ्चालनमा आउने भएकाे हो । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएसँगै बन्द भएको भिसा सेन्टर जुन ७ र ८ मा ५०/५० जनाको स्लट खुला हुनेछ । जुन ९ देखि भने प्रत्येक दिन दुई सय जनाको स्लट खुल्ला हुनेछ ।

कतार भिसा सेन्टरबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूको बायोमेट्रिक र स्वास्थ्य परीक्षणको काम हुन्छ । कतार भिसा सेन्टरमार्फत कतारमा हुने स्वास्थ्य परीक्षण, बायोमेट्रिक र करार सम्झौता प्रमाणीकरणको काम हुन्छ । स्वास्थ्य जाँचमा आँखा, स्वास्थ्य अवस्था, उचाइ, मोटाई र रक्तचाप जस्ता कुराको जाँच गरिन्छ ।

यसैगरी छातीको एक्सरे, एचआईभी परीक्षण, हेपटाइटिस बी र हेपटाइटिस सी, मधुमेह, एसजीओटी, गर्भावस्था जाँच, मलेरिया र माइक्रो फिलारियल पारासाइट, रगतको मोटोपन लगायतका परीक्षण गरिन्छ । बायोमेट्रिकमा आईआरआईएस र अनुहारको फोटो , हत्केलासहितको दशवटै औंलाको औंठा छाप लिइन्छ ।

कतार भिसा सेन्टरबाट निःशुल्क सेवा पाइन्छ । बायोमेट्रिक र स्वास्थ्य परीक्षण गर्दा लाग्ने शुल्क रोजगारदाताले नै कतारको मिनिस्ट्री अफ इन्टेरियरलाई तिरिदिएको हुन्छ । कतार जाने नेपाली कामदारले सेन्टरबाट सेवा लिए बापत एक रुपैयाँ पनि तिर्नु पर्दैन । भिसा सेन्टरबाट कतारमा पाउने सेवा सुविधा सहितको करार सम्झौताबारे सेन्टरबाटै जानकारी पाइन्छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार