कतार वा टर्की ट्रान्जिट मिलाएर साउदीबाट नेपाल आउन सकिने



काठमाण्डौ | कतार वा टर्कीलाई ट्रान्जिट बनाएर साउदीबाट नेपाल आउन सकिने भएको छ । नेपाल सरकारले पछिल्लो समय कतार, टर्की र चीनसहित तीन देशसँगका नियमित उडान खुला गरेको छ । योसँगै साउदीमा रहेका नेपाली श्रमिक पनि कतार वा टर्कीलाई ट्रान्जिट बनाएर नेपाल फर्किन सक्ने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

साउदीबाट सोझै नेपाल जाने फ्लाइट खोल्ने सम्बन्धमा अझै कुनै निर्णय नभैसकेको भए पनि नेपाल जान चाहनेले यी देशलाई ट्रान्जिट बनाएर जानसक्ने दूतावासको भनाइ छ । दूतावासका अनुसार कतार एअरवेज, नेपाल एअरलाइन्स र टर्किस एअरलाइन्समध्ये आफूलाई सहज हुने फ्लाइटमार्फत नेपाल जान सकिनेछ । टिकटको लागि सम्बन्धित एअरलाइन्स वा ट्राभल एजेन्सीमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

विदेशबाट फर्कने यी अवस्थामा जान पाउँछन् सिधै गन्तव्यमा, खोप लगाएको भए पनि होटल क्वरेण्टीन अनिवार्य
कोरोना विरुद्धको दुवै डोज खोप लगाएको भए पनि विदेशबाट फर्कने यात्रुले अनिवार्य रूपमा होटल क्वरेण्टीनमा बस्न पर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार अन्तर्राष्ट्रिय उडानमार्फत आउनेहरू विशेष अवस्थामा बाहेक सरकारले तोकेको होटल क्वरेण्टीनमा अनिवार्य बस्नुपर्ने उल्लेख गरिएको छ । मापदण्डमा कोरोना विरुद्धको खोप लगाएका यात्रु होटल क्वरेण्टीनमा बस्न नपर्ने भनेर कतै पनि उल्लेख गरिएको छैन ।

‘दुवै डोज खोप लगाएको भए पनि होम क्वरेण्टीनमा बस्न पाउनेहरू भनेर मापदण्डले तोकेका बाहेक सबै यात्रुले होटल क्वरेण्टीनमा बस्नपर्छ’ मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले भन्नुभयो,‘मापदण्ड सबै यात्रुका लागि हो यसमा खोप लगाएको नलगाएको भन्नै हुँदैन ।’

यी अवस्थामा सिधै होम क्वरेण्टीनमा जान पाइन्छ
सरकारले विदेशबाट आउने यात्रुका लागि जारी गरेको नयाँ मापदण्डले विभिन्न सर्त र अवस्थाहरूमा सिधै होम क्वरेण्टीनमा जान पाउने कुरा पनि उल्लेख गरेको छ ।

– आफ्नो धर्म, रीति, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारमा सहभागी हुन विदेशबाट नेपाल आउने व्यक्तिको हकमा पालिकाको सिफारिसका आधारमा कम्तीमा १० दिनसम्म अनिवार्य होम क्वरेण्टीनमा बस्ने गरी घर गन्तव्यमा जान अनुमति दिइने छ । क्वरेण्टीन रहँदाको समयमा आफ्नै खर्चमा ११ औँ दिनमा पीसीआर परीक्षण गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

– दीर्घ बिरामी, शारीरिक रूपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र पालिकाको सिफारिसका आधारमा कम्तीमा १० दिन होम क्वरेण्टीनमा बस्ने गरी घर÷गन्तव्यमा जान अनुमति पाइन्छ । होम क्वरेण्टीनमा बस्दा आफ्नै खर्चमा चौथौँ र ११ औँ दिनमा पीसीआर परीक्षण अनिवार्य रूपमा गर्न पर्नेछ । होम क्वरेण्टीनमा बसे नबसेको र पीसीआर परीक्षण गराए नगराएको निगरानी तथा अनुगमन सम्बन्धित पालिकाले गर्नेछ ।

– नेपाल आउने कूटनीतिक नियोगका पदाधिकारी, कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूको हकमा सम्बन्धित नियोगको सिफारिसको आधारमा नियोगले तोकेको वासस्थानमा अनिवार्य १० दिन क्वरेण्टीन बस्ने गरी गन्तव्यमा जान अनुमति दिइने मापदण्डमा उल्लेख गरेको छ । होम क्वरेण्टीनमा बस्दा आफ्नै खर्चमा चौथौँ र ११ औँ दिनमा पीसीआर परीक्षण अनिवार्य रूपमा गर्न पर्नेछ ।

–सरकारी काममा विदेश गएका कर्मचारीहरूको हकमा सम्बन्धित कार्यालयको सिफारिसका आधारमा कम्तीमा १० दिन होम क्वरेण्टीनमा बस्ने गरी घर/गन्तव्यमा जान अनुमति दिइने उल्लेख गरिएको छ । होम क्वरेण्टीनमा बस्दा आफ्नै खर्चमा चौथौँ र ११ औँ दिनमा पीसीआर परीक्षण अनिवार्य रूपमा गर्न पर्नेछ ।

– एकाघर परिवारका कुनै सदस्य अस्पतालको आइसियु तथा भेन्टिलेटरमा उपचारार्थ भर्ना भएका तर हेरचाह गर्ने कोही नभएकाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात तथा सम्बन्धित पालिकाको सिफारिस पेस भएमा अस्पताल घर गन्तव्यमा जान पाइने छ ।

होम क्वरेण्टीन बस्ने गरी वा होटल क्वरेण्टीन पूरा गरी गन्तव्यमा जान खोज्ने सबैलाई स्थानीय प्रशासनले आवश्यक सहजीकरण गर्ने जनाइएको छ ।

होटल क्वरेण्टीन अनिवार्य
खाडीको देश मलेसियाबाट स्वदेश फर्कने नेपाली श्रमिकले पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्छ । नयाँ मापदण्डमा खाडीका देश र मलेसियामा श्रम गरी स्वदेश फर्कने नेपालीले पाँच दिन होटेल क्वरेण्टीनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वरेण्टीनमा बस्ने गरी सम्बन्धित गन्तव्यमा जान अनुमति दिइने व्यवस्था गरिएको छ । आकस्मिक अवस्थामा बाहेक अन्य यात्रु १० दिन अनिवार्य होटेल क्वरेण्टीन बस्नपर्छ ।

नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ । यात्रुको साथमा १० दिन होटेल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुले होटेल क्वरेण्टीनको खर्च आफैँले व्यहोर्नपर्छ । १० दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परीक्षणबाट रिपोर्ट नेगेटिभ आएका सबै यात्रु आफ्नो गन्तव्यमा जान सक्नेछन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते शुक्रवार