कतारमा हप्तामा दुई उडान हुने, मलेसिया कहिले खुल्छ ?



काठमाडौं । जेठ २४ देखि कतारमा नियमित उडान खुल्ने भएको छ । सरकारले नियमित उडान खोल्न दिने निर्णय गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले विशेष उडान तालिका स्वीकृत गरेको छ।

सातामा एक दिन दुई उडानका लागि कतारमा उडान खोलिने छ । प्राधिकरणका अनुसार प्रत्येक सोमबार नेपाल एयरलाइन्स र कतार एयरवेजले १/१ उडान गर्ने छन् । त्यस्तै हप्तामा एक दिन टर्किस एयरले पनि इस्तानबुल-काठमाडौं उडान गर्ने भएको छ । यसअघि नै काठमाडौं-नयाँ दिल्ली उडान हप्तामा २ उडान हुँदै आएका छन्। सरकारले चीनका लागि पनि उडान खोल्ने निर्णय गरेपनि नेपाल नागरिक उड्डयन प्राधिकरणले चीनका लागि उडान तालिका सार्वजनिक गरेको छैन ।

यी चार देशमा हप्ताको सात नियमित अन्तर्राष्ट्रिय उडान हुने
चार देशमा अब हप्ताको ७ नियमित अन्तर्राष्ट्रिय उडान हुने भएका छन् । मन्त्रिपरिषदले चीन, कतार र टर्कीमा पनि नियमित उडान खुल्ला गरेसँगै ७ उडान हुने भएका हुन् । अहिले भारतमा हप्ताको दुई उडान हुँदै आएको छ । बुधबार र शुक्रबार नेपाल एयरलाइन्स र एयर इन्डियाले दुई उडान गर्दै आएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले टर्किस एयरलाइन्सले बिहीबार उडानको अनुमति पाइसकेको जानकारी दिए ।

क्षेत्रीका अनुसार चीनको एउटा एयरलाइन्स र नेपालको हिमालय एयरलायन्सले चीनमा नियमित उडान गर्न पाउनेछन्। त्यस्तै कतारको दोहामा कतार एयरलाइन्स र नेपाल एयरलाइन्सले हप्ताको एउटा उडान गर्नेछन् । टर्कीमा नेपाली हवाइ कम्पनीको नियमित उडान छैन, त्यसैले टर्किस एयरलाइन्सको एउटा मात्रै उडान हुन्छ’, प्राधिकरणका प्रवक्ता क्षेत्रीले भने, ‘चीन र कतारमा सम्बन्धित देशको जहाज र नेपाली कम्पनीले पाउँछन् ।’

यसअनुसार अब चीन, कतार र भारतमा हप्ताको दुई उडान हुनेछन् भने टर्कीमा एक उडान हुनेछ । तर नेपाल भारत उडानमा भने दुई देशका नागरिक मात्रै आउजाउ गर्न पाउनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट आउने नेपाली तथा विदेशीले नेपालमा आउँदा १० दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ। मलेसियासहित खाडी मुलुक बस्ने नेपालीले भने ५ दिन होटल क्वारेन्टिन र १० दिन होम क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते बुधवार