साउदीले क्वारेन्टाइनसम्बन्धी नियम उल्लंघन गरे पुनः फर्कन नपाउने गरी फिर्ता पठाउने



काठमाडौं | करिब एक वर्षपछि आर्थिक गतिविधि शुरु गरेको साउदी अरबले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न आफ्नो देश आउने विदेशीका लागि नयाँ स्वास्थ्य मापदण्ड लागू गरेको छ । सरकारले जारी गरेका मापदण्ड पालना नगर्ने विदेशीलाई पुनः साउदी प्रवेश गर्न नपाउने गरी जुन देशबाट आएको हो सोही देशमा फिर्ता पठाइने कडा चेतावनी दिइएको छ । साउदी अरबले कोरोना संक्रमण कम भएपछि मे १७ देखि विश्वका ७१ देशका गन्तव्यहरुमा उडान शुरु गरेको छ भने आर्थिक गतिविधि पनि बढाएको छ । साउदीका रोजगारदाताहरुले नेपाली कामदार खोजेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले निषेधाज्ञा घोषणा गर्नुअघि श्रम स्वीकृति लिएका कामदारलाई पठाउन अन्तर्राष्ट्रिय उडान सुचारु गर्न माग गरेका छन् ।

सोमबारदेखि लागू भएको नयाँ नियम अनुसार साउदी अरबमा प्रवेश गर्ने सबैको ७२ घण्टाभित्रको कोरोना भाइरसको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टसहित कोभिडविरुद्धको खोपको सबै डोज पूरा गरिसकेको खोप प्रमाणपत्र साथमा राखेको हुनुपर्ने छ ।
साउदी अरबको आवसीय परिचयपत्र (अकामा) भएका व्यक्ति बाहेक भिजिट भिसामा साउदी गएका यात्रुले कोरोना संक्रमणको उपचारसमेत कभर गर्ने स्वास्थ्य बीमा हुनुपर्ने अनिवार्य गरिएको छ । स्वास्थ्य बीमाले १४ दिनसम्मको संस्थागत क्वारेन्टिन खर्चसहित कोरोना संक्रमणको क्लिनिक, इमर्जेन्सी वा अस्पतालमा उपचार गराउँदा लाग्ने खर्च समेट्नु पर्ने शर्त राखिएको छ ।

विदेशी नागरिकले साउदी अरब पुगेपछि ७ दिनसम्म अनिवार्य संस्थागत क्वारेन्टिनमा बस्नुपर्नेछ । तर, कोभिडविरुद्धको खोपको दुबै डोज लगाइसकेकाले भने संस्थागत क्वारेन्टिनमा बस्नु नपर्ने बताइएको छ । संस्थागत क्वारेन्टिनमा बसेको अवस्थामा संक्रमण देखिएमा १० देखि १४ दिनसम्म क्वारेन्टिन बस्नु पर्ने छ । रियादस्थित नेपाली दूतावासका अनुसार साउदी प्रवेश गरेको २४ घण्टाभित्र र ७ औँ दिनमा गरी २ पटक पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा ८ औं दिनमा संस्थागत क्वारेन्टिनबाट बाहिर जान सकिने छ । दूतावासले सचेत भएर सरकारी निर्देशन पालना गर्न नेपालीहरुलाई आग्रह गरेको छ । साउदीको अकामा भएकाहरु संस्थागत क्वारेन्टिनमा बसेको अवस्थामा कोरोना संक्रमण देखिए सम्पूर्ण उपचार भने साउदी सरकारले नै गरिदिने बताइएको छ ।

नेपाली कामदारका प्रमुख गन्तव्य देशहरूमध्ये बहराइन, यूएई, कुवेत र मलेसियाले नेपालीलाई प्रवेशमा रोक लगाएका छन् । बहराइनले नेपालीसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट जाने यात्रुलाई प्रतिबन्ध लगाएको छ । यूएईले गत वैशाख २९ गतेदेखि नै नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार