जर्मन इन्टरनेशनलको प्रतिवेदन : कामदारका लागि ओमान ठीक, कुवेत खराब



काठमाडौं | नेपाली कामदार वैदेशिक रोजगारीका लागि जाने खाडीका दुई मुलुक आप्र्रवासी कामदारको सुरक्षाका दृष्टिले परस्पर विपरीत अवस्थामा देखिएका छन् । कुवेत आप्रवासीहरुका लागि विश्वमा सबैभन्दा खराब अवस्थामा देखिएको छ भने ओमान आप्रवासी कामदारमैत्री देशका रुपमा देखिएको छ ।

जर्मन इन्टरनेसन्स नेटवर्कले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले खाडी मुलुक कुवेतलाई आप्रवासीको लागि विश्वकै खराब मुलुककारुपमा चित्रण गरेको छ । कुवेतमा ८० हजार नेपाली कामदार रहेका छन् भने अर्को मुलुक ओमानमा १८ हजारको हाराहारीमा नेपाली कामदार कार्यरत रहेका छन् । कुवेतमा औपचारिक क्षेत्रमा काम गर्ने विदेशी कामदारभन्दा घरेलु कामदारको हैसियतमा रहेका विदेशी महिला कामदार बढी पीडित मानिन्छन् ।

कुवेतमा विदेशी कामदालाई निरन्तर काममा लगाई फुर्सद नदिइने भन्दै अध्ययनले घुमघाम र साथीभाइसँग भेटघाटको अवसर कम भएको र त्यसले कामदार खुशी र गतिशील नभएको उल्लेख गरेको छ । जर्मन संस्थाको उक्त अध्ययनलाई भने कुवेती मानव अधिकार संगठन र मजदुर युनियनले गलत भन्दै आलोचना गरेको अरब टाइम्सले टिप्पणी गरेको छ ।

ओमनमा भने स्थानीय बासिन्दा आप्रवासीका लागि मैत्रीपूर्ण मानिएका छन् । कुवेतीहरु विदेशीसँग सम्बन्ध गाँस्न अनिच्छुक रहेको अध्ययनले देखाएको छ भने ओमानीहरु विदेशीसँग मित्रता गाँस्न उत्साहित रहेको अध्ययनको दाबी छ । अध्ययनमा संलग्न झन्डै ९५ प्रतिशतले प्रवासीका लागि ओमान शान्त रहेको बताएका छन् । ओमानमा विदेशीका लागि स्वास्थ्य सेवा तथा वित्तीय पहुँच सरल पाइएको छ । त्यस विपरीत कुवेतमा भने यी क्षेत्रमा आप्रवासीको पहुँच साँघुरो रहेको अध्ययनले दाबी गरेको छ । मध्यान्ह दैनिकबाट साभार

प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार