एमाले जस्तो भ्रष्टाचारीलाई जोगाउने पार्टीसँग तत्काल एकता सम्भव छैन: प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशहितका विषयमा एमालेसँग सहकार्य हुन सक्ने भए पनि वैचारिक तथा राजनीतिक भिन्नताका कारण एकताको अवस्था नरहेको उनको भनाइ छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले एमालेमाथि भ्रष्टाचारको संरक्षण गरेको र सुशासनको पक्षमा उभिन नसकेको आरोप लगाए । आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध र सामाजिक न्याय तथा सुशासनको पक्षमा रहेको दाबी गर्दै उनले दुई दलको राजनीतिक चरित्र फरक रहेको जिकिर गरे ।

प्रचण्डले नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनले मुलुकमा राजनीतिक दुर्घटना निम्त्याउन सक्ने चेतावनी आफूहरूले पहिले नै दिएको स्मरण गरे । सुशासन र समृद्धिको अभियान अघि बढाइरहेका बेला संसद्का दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको उनको भनाइ थियो ।

लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सरकार सञ्चालन गर्ने अभ्यासमाथि प्रश्न उठाउँदै उनले तत्कालीन सत्तापक्ष भ्रष्टाचारको संरक्षणमा लागेको आरोपसमेत लगाए । यद्यपि, राष्ट्रिय हितका विषयमा आवश्यकताअनुसार विभिन्न राजनीतिक शक्तिसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको उनले बताए ।

एमालेसँगको सहकार्यलाई पार्टी एकतासँग जोडेर हेर्न नहुने प्रचण्डको तर्क छ । एकताका लागि दुवै पक्षको इतिहास, राजनीतिक पृष्ठभूमि र वैचारिक अन्तरको गम्भीर समीक्षा आवश्यक पर्ने उनले उल्लेख गरे ।

यसैबीच, माओवादी आन्दोलन कमजोर भएको र त्यसको अस्तित्व समाप्त भएको भन्ने भाष्यप्रति पनि प्रचण्डले असन्तुष्टि जनाए । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत २६ वटा साना–ठूला कम्युनिस्ट घटक एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै उनले यसलाई विघटन नभई रूपान्तरणको प्रक्रियाका रूपमा व्याख्या गरे ।

‘नामभन्दा काम महत्त्वपूर्ण हो,’ भन्ने धारणा राख्दै उनले विभिन्न घटकका विचार र भावनालाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कम्युनिस्ट आन्दोलनको भविष्यबारे अहिले उठिरहेका प्रश्न नयाँ नभएको भन्दै उनले २०४६ सालको जनआन्दोलनपछि पनि यस्तै निराशाजनक धारणा सार्वजनिक हुने गरेको दृष्टान्त दिए ।

सामाजिक सञ्जाल र नयाँ प्रविधिको प्रभाव बढ्दै गएको वर्तमान अवस्थामा आलोचना र निराशाजनक टिप्पणीमा अल्झिनुभन्दा आफ्नो राजनीतिक लक्ष्य तथा काममा केन्द्रित हुनुपर्नेमा प्रचण्डले जोड दिए ।

प्रकाशित मिति : २०८३ कार्तिक ८ गते शनिवार