कदर सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न, सुनिल शाक्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन



काठमाडौं । काठमाडौंको ओमबहालस्थित कदर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कालिमाटीस्थित फ्रेण्ड्स पार्टी भेन्यूमा सम्पन्न सभाले सुनिल शाक्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ।
सभाले संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी कार्ययोजना तथा सदस्यको हितसँग सम्बन्धित विभिन्न प्रस्तावमाथि छलफल गर्दै आवश्यक निर्णयसमेत गरेको छ।

नवनिर्वाचित सञ्चालक समितिमा महिला सदस्यतर्फ योजना शाक्य र ज्ञानीमैया महर्जन तथा पुरुष सदस्यतर्फ अविन्द्रमान शाक्य निर्विरोध निर्वाचित भएका छन्।

निवर्तमान अध्यक्ष विरेन्द्रमान शाक्यको अध्यक्षतामा सम्पन्न सभामा कोषाध्यक्ष होमबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/०८४ को वार्षिक योजना तथा बजेट र आर्थिक वर्ष २०८४/०८५ को प्रारम्भिक बजेट स्वीकृत गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गरिएको छ। सभाले संस्थाको नियमविनियम संशोधन, सहकारी विकास कोषको खर्च तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कार्यको अनुमोदनसमेत गरेको छ।

सदस्यलाई राहत प्रदान गर्ने उद्देश्यले ब्याज तथा हर्जाना छुटसम्बन्धी प्रस्तावका साथै सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापकको सेवा–सुविधासम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ। सभाको अवसरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने सदस्यका छोराछोरीलाई नगदसहित सम्मान गरिएको थियो।

९ करोड ७० लाखभन्दा बढीको सम्पत्ति तथा दायित्व

संस्थाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदनअनुसार सहकारीको शेयर पुँजी १ करोड ३४ लाख १५ हजार २०० रुपैयाँ रहेको छ। जगेडा कोषमा ८९ लाख १७ हजार ४१६ रुपैयाँसहित कुल पुँजी कोष २ करोड ४१ लाख ४७ हजार ३३३ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी, संस्थाको कुल निक्षेप ६ करोड २५ लाख ९२ हजार ६ रुपैयाँ र कुल ऋण लगानी ५ करोड ५६ लाख ६८ हजार ६१४ रुपैयाँ रहेको छ। ऋण नोक्सानी व्यवस्थाका लागि ७३ लाख ९७ हजार २८६ रुपैयाँ विनियोजन गरिएको छ।

संस्थाको कुल सम्पत्ति तथा दायित्व ९ करोड ७० लाख ७८५ रुपैयाँ रहेको छ भने नगद तथा बैंक मौज्दात ३ करोड ८१ लाख १७ हजार ५८९ रुपैयाँ कायम रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

सुशासन र सदस्यको बचत सुरक्षामा जोड

नवनिर्वाचित अध्यक्ष सुनिल शाक्यले सहकारी क्षेत्रमा देखिएका आर्थिक चुनौतीलाई ध्यानमा राख्दै संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ सञ्चालक समितिले सदस्यको बचत सुरक्षालाई प्राथमिकतामा राख्दै कर्जा असुली प्रभावकारी बनाउने, संस्थामा सुशासन र पारदर्शिता कायम गर्ने तथा प्रविधिमैत्री सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।
सदस्यको विश्वास कायम राख्दै सहकारीलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धतासहित सभा सम्पन्न भएको हो।

प्रकाशित मिति : २०८३ असोज २७ गते मङ्गलवार