काठमाडौँ । वृत्ति विकासको अवसर नपाएको भन्दै काठमाडौँ महानगरपालिकामा कार्यरत १६ जना नगर प्रहरी अधिकृतले राजीनामा दिएका छन्। पछिल्लो एक सातामा आठ जना प्रहरी निरीक्षक, पाँच जना प्रहरी नायब निरीक्षक (सई) र तीन जना प्रहरी सहायक निरीक्षक (असई) ले राजीनामा बुझाएका हुन्।
महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले १६ जनाले राजीनामा दिएको पुष्टि गर्दै उनीहरू लामो समयदेखि एउटै पदमा कार्यरत रहनुपरेको र बढुवाको अवसर नपाएको गुनासो रहेको बताए। उनीहरूलाई रोक्न वृत्ति विकासका विषयमा छलफल गरिए पनि धेरै जना काममा फर्किन अनिच्छुक देखिएको उनको भनाइ छ। राजीनामा स्वीकृतिको प्रक्रिया भने जारी रहेको उनले जानकारी दिए।
राजीनामा दिएका एक अधिकृतले वृत्ति विकासका लागि महानगरले पहल नगरेपछि बाध्य भएर जागिर छाड्नुपरेको बताए। उनका अनुसार बढुवासम्बन्धी निर्णय प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा रहेको पदपूर्ति समितिबाट हुनुपर्ने भए पनि प्रक्रिया अघि बढ्न सकेको छैन।
तर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति अर्यालले भने वृत्ति विकासमा असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएको भन्ने दाबी अस्वीकार गरेका छन्। उनका अनुसार राजीनामा दिने कर्मचारीमध्ये केही ३० वर्षे सेवा अवधि वा ५५ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका हुन्।
अर्यालले कानुनी व्यवस्थाअनुसार अहिले नगर प्रहरीलाई स्थायी नियुक्ति गर्न नसकिने र करारमा मात्र नियुक्त गर्नुपर्ने अवस्था रहेको बताए। करारका कर्मचारीको बढुवा गर्न नमिल्ने उनको भनाइ छ। यसअघि स्थायी नियुक्ति पाएका नगर प्रहरीको बढुवा प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा भने महानगरले कानुनी उपाय खोजिरहेको उनले जानकारी दिए।














