सिद्धिकाली सहकारीको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सदस्यको आर्थिक तथा शैक्षिक उन्नतिमा जोड



भक्तपुर । सिद्धिकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। मध्यपुर थिमि नगरपालिका–स्थित सिद्धिकाली चोकको शुभश्री ब्याङ्क्वेटमा शनिबार आयोजित सभामा हरिकृष्ण बल्ल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी योजना तथा सदस्यहरूको आर्थिक र सामाजिक उन्नतिका विषयमा छलफल गरिएको थियो। साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८३/८४ को अनुमानित बजेट प्रस्तुत गरी छलफल गरिएको थियो।

सभाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायतका विषयमा छलफल गरी आवश्यक निर्णय गरेको जनाइएको छ। साथै, सञ्चालक समिति तथा उपसमितिबाट भएका निर्णय अनुमोदन, शेयर लाभांश वितरण र संरक्षित पुँजी कोष फिर्तासम्बन्धी विषयसमेत कार्यसूचीमा समावेश थिए।

‘सुरक्षित र सुनिश्चित भविष्यका लागि सिद्धिकाली बचत’ भन्ने मूल नाराका साथ अघि बढिरहेको संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न बचत परिचालन, उत्पादनमूलक क्षेत्रमा लगानी र स्वरोजगार प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ। स्थानीय स्रोत, साधन, सीप, प्रविधि र पुँजीको सदुपयोगमार्फत सदस्यहरूको आर्थिक उन्नतिमा योगदान पुर्‍याउने संस्थाको उद्देश्य रहेको छ।

साधारण सभाको अवसरमा संस्थाले सदस्यहरूको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने कार्यक्रमसमेत सञ्चालन गरेको थियो। शैक्षिक वर्ष २०८३ मा एसईई उत्तीर्ण भएका बाल बचत सदस्यलाई सम्मान गर्ने तथा उत्कृष्ट अंक प्राप्त गर्ने एक जना बाल बचत सदस्यलाई ‘सिद्धिकाली शिक्षा सम्मान’ प्रदान गर्ने कार्यक्रम राखिएको थियो।

त्यसैगरी, शैक्षिक वर्ष २०८२ मा विभिन्न संकायमा स्नातकोत्तर तह उत्तीर्ण गरेका सदस्यलाई सम्मान गर्ने, बाल बचत सदस्यलाई शैक्षिक सामग्री वितरण गर्ने तथा ज्येष्ठ सदस्यलाई सम्मान गर्ने कार्यक्रमसमेत समावेश गरिएको थियो। परम्परागत थिमी भैलः कार्यक्रममा योगदान पुर्‍याउने गुरुजन तथा कलाकारलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको थियो।

संस्थाले आर्थिक कारोबारमा सदस्यको सहभागिता बढाउँदै नियमित बचत गर्ने बानीको विकास, पुँजी निर्माण तथा उत्पादनमूलक क्षेत्रमा लगानीको अवसर विस्तार गर्न सहकारीको भूमिका महत्त्वपूर्ण रहेको जनाएको छ।
साधारण सभाले संस्थाको विगतको प्रगतिको समीक्षा गर्दै आगामी दिनमा सदस्यको आर्थिक हित, सामाजिक उत्तरदायित्व र संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने दिशामा मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार