आम चिनियाँभन्दा अलग एक अतिथि



लाग्छ, लुइ चे आम चिनियाँ पर्यटकभन्दा केही अलग छन्। सँगै बसेर चिनियाँ खाना खाँदा आफूले नखाई मलाई खान आग्रह गर्छन्। आफूलाई पुग्यो भन्दै मेरो प्लेट र कचौरामा आफैँ थपिदिन्छन्। उनको यो व्यवहारमा देखावटी औपचारिकता होइन। सहज सद्भाव र आत्मीयताको न्यानोपन भेटिन्छ। मान्छेको मन जित्न ठूला शब्द चाहिँदैनन्। कहिलेकाहीँ खानाको थालबाट बढाइएको एउटा गाँसमै आत्मीयताको गहिराइ लुकेको हुन्छ।
उनको अरु व्यावहारमामा पनि मित्रता र आत्मीयताको न्यानोपन भेटिन्छ।

बौद्ध धर्मप्रति उनको विशेष झुकाव छ। बौद्ध परिसरमा पुग्दा स्तूप र गुम्बाभित्रका बुद्धमूर्तिसामु दुवै हात जोडेर श्रद्धापूर्वक नमन गर्छन्। आज बिहान हामी बौद्ध स्तूप पुगेका थियौँ। बाहिरी प्रवेशद्वार पार गर्नासाथ उनले त्यही श्रद्धाभाव दोहोर्‍याए। हात जोडेर तीन–चारपटक शिर झुकाए। उनको त्यो नमन पर्यटकले देखेको कुनै आकर्षक सम्पदाप्रतिको सामान्य प्रतिक्रियाभन्दा माथी उठेको आस्थाको मौन अभिव्यक्ति थियो।

जीवित देवी कुमारीको परम्परा, आस्था र धार्मिक विश्वासप्रति पनि उनको उत्तिकै चासो छ। पाटन दरबार क्षेत्र घुम्ने पूर्वनिर्धारित कार्यक्रम परिवर्तन गरेर उनी काठमाडौँको हनुमानढोका दरबार क्षेत्रको दक्षिणतर्फ अवस्थित कुमारीघर पुगे। उद्देश्य थियो—जीवित देवी कुमारीको प्रत्यक्ष अवलोकन गर्नु। अनि यसको परम्परा र धार्मिक महत्त्व बुझ्नु। कुनै ठाउँको तस्बिर लिएर फर्कनु र त्यसको आस्था बुझ्न खोज्नुबीचको भिन्नता उनको रोजाइले प्रस्ट्याउँथ्यो।

अरू चिनियाँ पर्यटक प्रायः आफ्ना तस्बिर खिच्न उत्साहित देखिन्छन्। तर लुइ चे भने आफ्नो फोटो खिचिदिन आग्रह गर्दा समेत इन्कार गर्छन्। सगरमाथा आधारशिविरको पदयात्राभरि उनले मदिरा सेवन गरेनन्। काठमाडौँमा बिताएका दुई दिनको घुमघाममा समेत धूम्रपान र मदिरामा पैसा खर्च गर्न अलिकति पनि रुचि देखाएनन्। उनको संयमित जीवनशैली र भलादमी स्वभावले मलाई उनीप्रति थप आत्मीय बनायो।

यिनी चीनको कोन्चावबाट पहिलोपटक नेपाल आएका हुन्। उनको स्वभावलाई नजिकबाट नियालिरहँदा एउटा अतिथिको व्यक्तिगत विशेषताभन्दा पर गएर चिनियाँ पर्यटकको विशाल संसारबारे सोच्न मन लाग्छ। बितेका वर्षहरूमा झैँ यस शरद् याममा पनि सगरमाथा पदमार्गदेखि काठमाडौँ उपत्यकासम्म चिनियाँ पर्यटकको बाक्लो उपस्थिति देखियो। कोन्चावबाहेक हुबेई, सिचुआन, शान्सी, शान्दोङ, हाइनानलगायत चीनका विभिन्न प्रान्तबाट आएका हजारौँ पर्यटक नेपाल घुमिरहेका थिए।

चिनियाँहरू नेपाल आउने प्रमुख समयमध्ये शरद् याम एउटा हो। अर्को उल्लेख्य अवसर हो—चिनियाँ वसन्त चाड, ‘छुन च्ये’ अर्थात् चिनियाँ नयाँ वर्ष। यही पर्वका बेला व्यापारी, कामदार र कर्मचारीहरू आफ्नो व्यस्त दैनिकीबाट समय निकालेर बिदा मनाउँछन्। कतिपयका लागि त्यो बिदा परिवारसँग बिताउने अवसर हुन्छ, कतिपयका लागि विदेश घुम्ने। त्यही अवसरमा नेपालका पर्यटकीय गन्तव्यहरू चिनियाँ पर्यटकले भरिन्छन्।

पदयात्राबाहेक काठमाडौँ, पोखरा, नगरकोट, चितवन र लुम्बिनी उनीहरूका रोजाइका प्रमुख गन्तव्य हुन्। ती ठाउँमा पनि चिनियाँ पर्यटकको उपस्थिति बाक्लै देखिन्छ। केही दिनका लागि भए पनि नेपालका पर्यटकीय थलोहरू चिनियाँ भाषा, अनुहार र संस्कृतिले रङ्गिन्छन्।

चिनियाँहरूको एउटा स्वभाव मलाई सधैँ रोचक लाग्छ—उनीहरू आपसमा खुलेर कुराकानी गर्छन्। पहिलोपटक भेटेको अपरिचित व्यक्तिसँग पनि सहजै संवाद सुरु गर्छन्। उनीहरूको कुराकानीमा देखिने आत्मीयताले कहिलेकाहीँ यस्तो लाग्छ। मानौँ लामो समयदेखि छुट्टिएका साथीहरू अकस्मात् भेटिएका हुन्। अपरिचितसँग बोल्न हिचकिचाउने मानिसका लागि यो स्वभाव अनुकरणीय लाग्न सक्छ।

तर संसारकै विशाल जनसङ्ख्यामध्ये एक ठूलो हिस्सा ओगट्ने चिनियाँ नागरिकबारे एउटै अनुभवका आधारमा निष्कर्ष निकाल्नु सजिलो छैन। चीनको भूगोल जति विशाल छ। त्यहाँका मानिसहरूको जीवनशैली, रुचि र स्वभाव पनि त्यत्तिकै विविध छन्। त्यसैले मैले देखेका चिनियाँ पर्यटकका व्यवहार मेरा यात्राका अनुभव र व्यक्तिगत अवलोकन हुन्। सबै चिनियाँ नागरिकको साझा चरित्र होइनन्।

तथापि मैले भेटेका धेरै चिनियाँ पर्यटकमा एउटा समान रुचि देखेको छु—तस्बिर खिच्ने उत्साह। अनेक मुद्रा र भावभङ्गीमा तस्बिर खिच्छन्। कहिले ऐतिहासिक सम्पदाको पृष्ठभूमिमा, कहिले हिमालको काखमा, त कहिले सामान्य सडकछेउमै। उनीहरूका लागि यात्रा केवल ठाउँ हेर्नु होइन। ती क्षणलाई तस्बिरमा सुरक्षित राख्नु पनि हो। यति धेरै उत्साहका साथ तस्बिर खिच्ने पर्यटक मैले अरू देशका सन्दर्भमा कमै भेटेको छु।

कामप्रतिको लगनशीलता, समयको सदुपयोग र आफ्नो उद्देश्यप्रति जागरुकता पनि मैले धेरै चिनियाँमा देखेका विशेषता हुन्। आफूले चाहेको कुरा प्राप्त गर्न निरन्तर प्रयास गर्ने र अरूलाई आफ्नो कुरा बुझाउन सिपालु हुने गुण उनीहरूमा भेटिन्छ। सायद यस्ता गुणले नै चिनियाँ नागरिकलाई संसारका अनेक प्रतिकूल परिवेशमा पनि आफ्नो स्थान बनाउन सहयोग गरेका छन्।

भाषाको सन्दर्भमा पनि समयसँगै परिवर्तन देखिएको छ। पुरानो पुस्ताका धेरै चिनियाँ पर्यटकलाई अङ्ग्रेजी बोल्न वा बुझ्न कठिनाइ हुन सक्छ। तर नयाँ पुस्ताका युवाहरूमा अङ्ग्रेजीप्रतिको रुचि र दक्षता बढ्दै गएको देखिन्छ। कतिपय युवा अङ्ग्रेजी सिक्नकै लागि विदेश पुग्छन्। शिक्षा, अन्तर्राष्ट्रिय सम्पर्क र बदलिँदो विश्व परिवेशले उनीहरूको भाषिक क्षमतालाई थप विस्तार गरिरहेको छ। भाषा केवल कुराकानीको माध्यमको साथै फरक संसारबीच पुल बनाउने एउटा बाटो पनि हो।

नेपाली पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकको इतिहास धेरै लामो छैन। यसको विकास पनि सधैँ उकालो लागेको यात्राजस्तो रहेन। कहिले पर्यटकको आगमन बढ्यो, कहिले बजार ओरालो लाग्यो। पर्यटन व्यवसायमा संलग्न मानिसहरूले यी दुवै अवस्था नजिकबाट भोगेका छन्।

मेरो जानकारीअनुसार, सन् २००२ तिर नेपालस्थित चिनियाँ दूतावाससँगको सम्पर्क, व्यक्तिगत चिनजान र केही नेपाली व्यवसायीको प्रयासबाट चिनियाँ नागरिकहरू पर्यटकका रूपमा नेपाल आउन थालेका थिए। सन् २००३ मा चीनले आफ्ना नागरिकलाई विदेश भ्रमणमा जान दिने नीतिलाई विस्तार गरेपछि नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या बढ्न थालेको हो।

सुरुवाती दिनमा चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन अरनिको ट्राभल, पोखरा ट्राभल, काठमाडौँ–ल्हासा ट्राभल, सूर्य ट्राभल, फेवा ट्राभल, साथी ट्राभल र शिव ट्रेकलगायतका कम्पनीले महत्त्वपूर्ण भूमिका खेले। ती कम्पनीका प्रयासले विस्तारै नेपाल र चीनबीचको पर्यटकीय सम्बन्धलाई बलियो बनाउन सहयोग पुर्‍यायो।

सन् २००५ देखि सन् २०१५ को महाभूकम्पअघिसम्म चिनियाँ पर्यटकको आगमन उल्लेख्य रह्यो। विशेषतः सन् २००३ देखि २००८ सम्मको समय काठमाडौँका सिटी गाइडका लागि निकै फलदायी थियो। त्यतिबेला एउटै गाइडले पचास–साठी जनासम्म चिनियाँ पर्यटकको समूह सम्हाल्थे। पारिश्रमिकबाहेक प्रतिपर्यटक प्रतिदिन कम्तीमा सात अमेरिकी डलरसम्म बक्सिस पाउने गरेको अनुभव छ। थाङ्का र रुद्राक्ष खरिद गराउन सके त्यसबापतको कमिसनले आम्दानी थप बढ्थ्यो।

त्यो समय सहरका पथप्रदर्शकका लागि कमाइको राम्रो अवसर थियो। पर्यटकलाई घुमाउने, सम्पदाबारे बुझाउने र किनमेलमा सहयोग गर्ने कामबाट जीवनयापन बाहेक भविष्यप्रतिको आशा पनि बलियो बनाउन सकिन्थ्यो। पर्यटकको आगमन बढ्दा होटल, ट्राभल कम्पनी, गाइड, सवारीचालक र पसलेसम्मको जीविकामा त्यसको प्रभाव पर्थ्यो। एउटा पर्यटकको आगमनले धेरै परिवारको चुलोमा आगो बाल्थ्यो।

अहिले पनि चिनियाँ पर्यटकको नेपालप्रतिको आकर्षण पूर्ण रूपमा हराएको छैन। तर समयसँगै बजारको स्वरूप फेरिएको छ। चिनियाँ पर्यटकको आवश्यकता पूरा गर्ने व्यवसायमा चिनियाँ उद्यमीहरूकै संलग्नता बढेको छ। यसले नेपाली व्यवसायीका लागि प्रतिस्पर्धाको नयाँ अवस्था सिर्जना गरेको छ।

सन् २०१९ को अन्त्यतिर कोरोना महामारी फैलिएपछि चिनियाँ पर्यटकको आगमन क्रमशः घट्दै गयो। महामारी र त्यससँग सम्बन्धित यात्रा प्रतिबन्धका कारण नेपाली पर्यटन व्यवसायले गम्भीर धक्का बेहोर्‍यो। सन् २०२३ मार्च १६ देखि चिनियाँ पर्यटक पुनः नेपाल आउन थाले पनि त्यसपछिको बजारले पुरानो गति समात्न सकेको छैन।

यसको असर सबैभन्दा प्रत्यक्ष रूपमा सिटी गाइडको आम्दानीमा देखिन्छ। पहिले आठ दिनको प्याकेजमा तीन सय अमेरिकी डलरसम्म पारिश्रमिक पाउने गरेका केही गाइड अहिले त्यही अवधिको काम बीस हजार रुपैयाँसम्ममा, कतिपय अवस्थामा नियमित पारिश्रमिकबिनै, स्वीकार गर्न बाध्य भएको मैले देखेको छु। तुलनात्मक रूपमा पहाड र हिमाली पदमार्गमा काम गर्ने ट्रेकिङ गाइडको अवस्था केही राम्रो देखिए पनि समग्र पर्यटन व्यवसाय पुरानै लयमा फर्कन सकेको छैन।

समस्या गाइडको आम्दानीमा मात्र सीमित छैन। चिनियाँ पर्यटकसँग काम गर्ने कम्पनीहरूको नाफा पनि हिउँदमा खोलाको पानी घटेझैँ खुम्चिएको छ। कतिपय कम्पनीलाई एउटा पर्यटकबाट पन्ध्र–बीस डलर नाफा निकाल्नसमेत कठिन भइरहेको छ। खर्च, प्रतिस्पर्धा र घट्दो आम्दानीबीच व्यवसाय धान्नु उनीहरूका लागि चुनौती बनेको छ।

चिनियाँ पर्यटन बजार आजको नाजुक अवस्थामा एकाएक आइपुगेको होइन। बजार खस्किनुका पछाडि अनेक कारण छन्। मेरो अनुभवमा पहिलो कारण नेपाली पर्यटन कम्पनीहरूबीचको अस्वस्थ प्रतिस्पर्धा हो। पर्यटक तान्ने होडमा कतिपय व्यवसायीले मूल्य अस्वाभाविक रूपमा घटाउँदा अन्ततः सेवा, पारिश्रमिक र व्यवसायको गुणस्तरमै असर पर्छ।

दोस्रो कारण चिनियाँ एजेन्ट र समूह नेताहरूको सङ्ख्या अनियन्त्रित रूपमा बढ्नु हो। नेपाल घुम्न आएका केही समूहबाट एक जना चिनियाँ सदस्यले समूहको नेतृत्व गर्ने अनुभव बटुल्छन्। अर्को पटक नेपाल आउँदा उनी आफैँ समूह नेता बन्छन् र कहिलेकाहीँ पथप्रदर्शकको कामसमेत गर्न खोज्छन्। यसरी अनुभव र अनुमतिबिनै पथप्रदर्शन गर्ने प्रवृत्ति बढ्दा नेपाली गाइडको रोजगारी र पर्यटन सेवाको नियमनमा समस्या उत्पन्न हुन्छ।

तेस्रो कारण सम्बन्धित निकायको कमजोर निगरानी हो। पर्यटन क्षेत्रमा कानुनी व्यवस्था र व्यावसायिक मर्यादा कायम राख्न प्रभावकारी अनुगमन आवश्यक हुन्छ। नियम उल्लङ्घन हुँदा नियन्त्रण नहुनु र अनियमित गतिविधिप्रति मौन रहनुले समस्या झन् जटिल बनाउँछ। विदेशी पर्यटक वा समूह नेताप्रति पूर्वाग्रह राख्नु समाधान होइन। सबैलाई समान नियम लागू गर्नु नै स्वस्थ पर्यटन बजारको आधार हो।

पर्यटन भनेको पर्यटक ल्याउने र घुमाउने काम मात्र होइन। यो विश्वास, सेवा, रोजगारी र देशको प्रतिष्ठासँग जोडिएको क्षेत्र हो। त्यसैले अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्ने, कानुनी मापदण्ड पालना गराउने र नेपाली पथप्रदर्शकको व्यावसायिक भविष्य सुरक्षित गर्ने कामलाई सँगसँगै अघि बढाउनुपर्छ।

चिनियाँ पर्यटकको विशाल संसारबारे सोच्दै गर्दा मेरो मन फेरि लुइ चेतिरै फर्किन्छ। एउटै देशबाट आएका मानिसहरूको रुचि, व्यवहार र जीवनदृष्टि कति फरक हुन सक्छन् भन्ने कुरा उनको उपस्थितिले सम्झाउँछ। अरूले तस्बिरमा सुरक्षित गर्न खोजेको यात्रालाई उनी आस्था र अनुभूतिमा आत्मसात् गर्न चाहन्छन्। अरूका लागि सामान्य देखिने धार्मिक स्थल उनका लागि श्रद्धाले शिर झुकाउने ठाउँ बन्छ। सँगै बसेर खाना खाँदा उनले देखाउने आत्मीयता र आफ्नो आवश्यकताभन्दा अरूको सहजतालाई महत्त्व दिने व्यवहारले यात्राको अर्थ अझ फराकिलो बनाउँछ।

सगरमाथा आधारशिविरको पदयात्रा होस् वा काठमाडौँका पुराना सम्पदा घुम्ने दुई दिन। लुइ चेले मलाई एउटा कुरा फेरि सम्झाए—यात्रामा भेटिने मानिसहरू पनि यात्राकै अविस्मरणीय सम्पदा हुन्। हिमाल, स्तूप, गुम्बा र दरबारले आँखालाई आकर्षित गर्छन्; तर कुनै अतिथिको सरल व्यवहारले मनमा छोडेको छाप लामो समयसम्म रहिरहन्छ।

सायद यही कारणले, वर्षौँदेखि पर्यटकलाई नेपालका बाटा देखाउँदै हिँडेको मेरो मनमा यी चिनियाँ अतिथि एउटा फरक अतिथिका रूपमा बसेका छन्। उनको परिचय केवल चीनबाट आएका पर्यटक भन्ने होइन। उनी त्यस्ता यात्रु हुन्, जसले आफ्नो व्यवहारबाट अर्को देशको मानिसको मन जित्न सक्छन्।

अन्ततः, देशलाई चिनाउने काम उसका हिमाल र सम्पदाले त हो नै। त्यहाँ आउने मानिसहरूले पनि एकअर्कालाई बुझ्ने अवसर सिर्जना गर्छन्। लुइ चे नेपाल हेर्न आएका थिए। तर उनको यात्राले मलाई पनि एउटा नयाँ दृष्टि दियो—मानिसलाई उसको राष्ट्रियताभन्दा पहिले उसको व्यवहारबाट चिन्ने दृष्टि।

यात्राका कतिपय सम्झना तस्बिरमा कैद हुन्छन्। कतिपय टिपोटका पानामा। तर केही सम्झना यस्ता हुन्छन्, जो मनको कुनामा चुपचाप बस्छन्। लुइ चे त्यस्तै एउटा सम्झना बनेका छन्।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार