काठमाडौं । किरात खालिङ राई उत्थान संघले आफ्नो २५औँ वर्षगाँठका अवसरमा रजत उत्सव समारोह आयोजना गरेको छ। काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा असोज १७ गते आयोजित समारोहमा खालिङ राई समुदायको भाषा, संस्कृति, पहिचान तथा सामाजिक उत्थानका विषयमा चर्चा गरिएको हो।
संघका अध्यक्ष बलबहादुर खालिङको सभापतित्वमा सम्पन्न समारोहमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा पूर्वरक्षामन्त्री मानवीर राई विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
समारोहमा परराष्ट्र मन्त्रालयका सचिव तथा संघका सल्लाहकार एवं अक्षयकोषदाता अमृतबहादुर खालिङ, किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष तथा संघका संरक्षक गौरव राई, नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत मातृभाषा तथा लिपि विभाग प्रमुख सीता तुम्बेवा, त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागका अनुसन्धाता तथा उपप्राध्यापक डा. तारामणि राईलगायतको उपस्थिति थियो।
त्यसैगरी जिमी राई उत्थान समाज सोलुका केन्द्रीय अध्यक्ष यसबहादुर राई, संघका संस्थापक अध्यक्ष पर्शुराम खालिङ, पूर्वअध्यक्ष अधिवक्ता विषण खालिङ, संघका पदाधिकारी तथा पूर्वपदाधिकारी, सदस्य र विभिन्न क्षेत्रबाट आएका खालिङ राई समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
समारोहमा संघले २५ वर्षको अवधिमा खालिङ राई समुदायको भाषा, संस्कार, संस्कृति र पहिचान संरक्षण तथा सामाजिक उत्थानका क्षेत्रमा गरेको योगदानको समीक्षा गरिएको थियो। आगामी दिनमा संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै समुदायको हित र उत्थानका लागि निरन्तर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले खालिङ राई समुदायको मौलिक भाषा, लिपि, संस्कार र सांस्कृतिक परम्पराको संरक्षणका लागि नयाँ पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए। बदलिँदो सामाजिक परिवेशमा समुदायको मौलिक पहिचान जोगाउन युवा पुस्तालाई संस्कृति र भाषासँग जोड्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
रजत उत्सवका अवसरमा औपचारिक कार्यक्रमसँगै खालिङ राई समुदायको मौलिक संस्कृति झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुति, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो। सहभागीहरूले सामूहिक रूपमा नाचगान गर्दै उत्सवलाई उल्लासमय वातावरणमा मनाएका थिए।
संघले २५ वर्ष पूरा भएको अवसरलाई संस्थाको विगतको यात्रा, योगदान र उपलब्धिको समीक्षा गर्दै आगामी दिनका लागि नयाँ संकल्प गर्ने अवसरका रूपमा लिएको जनाएको छ।













