कालिञ्चोक दर्शनको साधारणसभा सम्पन्न, ८.५ प्रतिशत बोनस र १ः१ हकप्रद पारित



काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। भक्तपुरको मध्यपुर थिमी–गठ्ठाघरस्थित जर्मन होम्स होटलमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटीले गरेका थिए भने सचिव तिलकराज शिवाकोटीले सञ्चालन गरेका थिए।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ। साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण र सञ्चालक नियुक्तिको बाँकी अवधिको अनुमोदनसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ।

८.५ प्रतिशत बोनस सेयर वितरण

सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी रु. ६३ करोडको ८.५ प्रतिशत अर्थात् रु. ५ करोड ३५ लाख ५० हजार बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बोनस सेयरको कर प्रयोजनका लागि ०.४४७४ प्रतिशत अर्थात् रु. २८ लाख १८ हजार ४२१ रुपैयाँ ५ पैसा नगद लाभांश दिने प्रस्ताव पनि पारित भएको छ। यससँगै कम्पनीको कुल प्रस्तावित लाभांश ८.९४७४ प्रतिशत कायम भएको छ।

१ः१ अनुपातमा हकप्रद निष्कासन

बोनस सेयर वितरणपछि कायम हुने रु. ६८ करोड ३५ लाख ५० हजार चुक्ता पुँजीका आधारमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत सभाले अनुमोदन गरेको छ।
यसअनुसार कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका ६८ लाख ३५ हजार ५०० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

लगानीको दायरा विस्तार गर्ने

कम्पनीले पर्यटन व्यवसायसँगै कृषि, जलविद्युत्, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रमा लगानी र व्यवसाय विस्तार गर्ने भएको छ। यसका लागि कम्पनीको प्रबन्धपत्रमा आवश्यक उद्देश्य थप तथा परिमार्जन गर्ने प्रस्ताव पारित गरिएको छ।
बोनस तथा हकप्रद सेयरबाट वृद्धि हुने जारी तथा चुक्ता पुँजीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायबाट निर्देशन आएमा सोहीअनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गरेको छ।

कालिञ्चोकमा पर्यटकीय पूर्वाधार सुधार

कम्पनीले कालिञ्चोक क्षेत्रमा पर्यटकीय सेवा तथा पूर्वाधार सुधारलाई प्राथमिकता दिने जनाएको छ। बसपार्क व्यवस्थापन, खानेपानी ट्यांकी तथा पाइपलाइन मर्मत, छुट्टै टिकट काउन्टर र सुरक्षा पोस्ट निर्माण तथा ईभी चार्जिङ स्टेशन स्थापनालगायतका योजना अघि बढाउने तयारी छ।
त्यसैगरी डिजिटल माध्यमबाट सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने तथा स्थानीय समुदायसँग सहकार्य गर्दै पर्यटन गतिविधि विस्तार गर्ने कम्पनीको योजना छ।

बाढीपीडितलाई ११ लाख ११ हजारभन्दा बढी सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले भोटेकोसी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११ लाख ११ हजार १११ सहयोग गरेको जनाएको छ।
सभामा अध्यक्ष शिवाकोटीले शेयरधनी, कर्मचारी, स्थानीय समुदाय तथा अन्य सरोकारवालासँगको सहकार्यलाई निरन्तरता दिँदै पर्यटकीय सेवा, पूर्वाधार र प्रविधिको विकासमा कम्पनीले जोड दिने बताएका छन्।

साधारणसभाबाट बोनस तथा हकप्रद सेयर, पूँजी विस्तार, लगानी विविधीकरण र पर्यटकीय पूर्वाधार विकाससँग सम्बन्धित महत्वपूर्ण प्रस्तावहरू पारित भएसँगै कालिञ्चोक दर्शनले आगामी व्यावसायिक विस्तारको बाटो थप स्पष्ट गरेको छ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार