शिक्षक आन्दोलन टाइँटाइँ फिस्स बनाएका लक्ष्मीकिशोर अवकाश लगत्तै कांग्रेसको राजनीतिमा सक्रिय



काठमाडौँ क्षेत्र नं. ९ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पूर्वशिक्षक नेता लक्ष्मीकिशोर सुवेदीले उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका निवर्तमान अध्यक्ष सुवेदीले आगामी १५औँ महाधिवेशनमा ‘पेसागत विषय विज्ञ क्लस्टर’ तर्फबाट प्रतिस्पर्धा गर्न लागेका हुन्।

गत भदौ १८ गते शिक्षक सेवाबाट अनिवार्य अवकाश पाएपछि उनी महासंघको अध्यक्ष पदबाट समेत बाहिरिएका थिए। लामो समयदेखि नेपाली कांग्रेसप्रति वैचारिक प्रतिबद्धता राख्दै आएका सुवेदीले अवकाशलगत्तै सक्रिय राजनीतिमा होमिने निर्णय गरेका हुन्। उनले चुनावी प्रचार सामग्री सार्वजनिक गर्दै क्षेत्र नं. ९ का क्षेत्रीय प्रतिनिधि तथा मतदाताहरूसँग अमूल्य मतदानको अपिल गरेका छन्।

यद्यपि, सुवेदीको यो राजनीतिक यात्रासँगै उनीमाथि विगतमा लागेका आरोपहरू पुनः सतहमा आएका छन्। उनको नेतृत्वमा गत वर्ष काठमाडौँमा २९ दिनसम्म चलेको शिक्षक आन्दोलन ठोस उपलब्धिबिना नै सरकारसँगको सम्झौतामा टुंगिएको थियो। उक्त आन्दोलनले शिक्षकका समस्याप्रति सकारात्मक रहेकी तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईलाई राजीनामा दिन बाध्य पारेको आरोप समेत लाग्दै आएको छ।

हजारौँ शिक्षकहरूलाई सडकमा उतारेर नेतृत्व तह भने राजनीतिक दलहरूसँग सौदाबाजीमा लागेको भन्दै त्यतिबेलै शिक्षक वृत्तमा तीव्र असन्तुष्टि पोखिएको थियो। सम्झौतापछि आम शिक्षकहरू नेतृत्वसँग टाढिँदै गएका थिए। पछिल्लो समय सरकारले ट्रेड युनियन खारेज गरेसँगै शिक्षक महासंघ थप प्रभावहीन बनेको विश्लेषकहरूको ठम्याइ छ।

सुवेदीले अवकाश पाउनासाथ पार्टीको चुनावी राजनीतिमा उम्मेदवारी दिएपछि विगतको शिक्षक आन्दोलन व्यक्तिगत र राजनीतिक स्वार्थका लागि सौदाबाजी गरिएको थियो भन्ने आरोपले थप पुष्टि पाएको एक शिक्षक नेताले नाम नबताउने सर्तमा बताए।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार