टीभीएस एनटर्क १५० नेपालमा सार्वजनिक, मूल्य ३ लाख ७० हजार रुपैयाँ



काठमाडौं । टीभीएसले आफ्नो एनटर्क सिरिजअन्तर्गतको नयाँ तथा शक्तिशाली स्कुटर टीभीएस एनटर्क १५० स्ट्यान्डर्ड नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले यसको मूल्य ३ लाख ७० हजार रुपैयाँ निर्धारण गरेको छ।

एनटर्क सिरिजकै उच्च क्षमताको यो स्कुटरमा १४९.७ सीसी इन्जिन दिइएको छ। उक्त इन्जिनले १३.२ पीएस अधिकतम शक्ति र १४.२ एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ। स्कुटरले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमा हासिल गर्ने तथा अधिकतम १०४ किलोमिटर प्रतिघण्टा गति लिन सक्ने बताइएको छ। यसको माइलेज ५०.२ किलोमिटर प्रतिलिटर रहेको दाबी गरिएको छ।

फिचरतर्फ पनि एनटर्क १५० लाई विभिन्न आधुनिक प्रविधिले सुसज्जित गरिएको छ। यसमा प्रोजेक्टर हेडलाइट, ट्र्याक्सन कन्ट्रोल, राइड मोड, आईगो असिस्ट (iGO Assist), सिंगल–च्यानल एबीएस लगायतका सुविधा उपलब्ध छन्।

त्यस्तै, स्कुटरमा २.८ इन्चको टीएफटी र २.५ इन्चको एलसीडी डिस्प्ले राखिएको छ। यसमा ५० भन्दा बढी कनेक्टेड फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ।

नेपाली बजारमा एनटर्क १५० स्ट्यान्डर्ड सिल्भर, रेड र ब्लू गरी विभिन्न रङमा उपलब्ध हुनेछ।
शक्ति, प्रविधि र कनेक्टेड फिचरमा गरिएको थप सुधारसँगै नयाँ एनटर्क १५० ले नेपाली स्कुटर बजारमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। ३ लाख ७० हजार रुपैयाँको मूल्यमा आएको यो स्कुटरले ग्राहकलाई मूल्यअनुसार कति सुविधा र प्रदर्शन दिन्छ भन्ने विषय भने बजारमा यसको प्रयोग र प्रतिक्रियापछि थप स्पष्ट हुनेछ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार